
काठमाडौं । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा वैदेशिक व्यापार १७ प्रतिशतभन्दा धेरैले बढेको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार अघिल्लो आर्थिक वर्षको पहिलो ६ महिनाको तुलनामा आयात १४ दशमलव १८ प्रतिशत र निर्यात ४३ दशमलव ७६ प्रतिशत गरि कुल वैदेशिक व्यापार १७ दशमलव ३६ प्रतिशतले बढेको हो ।
विभागका अनुसार साउनदेखि पुससम्ममा १० खर्ब ८१ अर्ब ४ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । यसमा ९ खर्ब ३९ अर्ब २ करोड रुपैयाँ बराबरको आयात र १ खर्ब ४२ अर्ब १ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ ।
वैदेशिक व्यापारसँगै व्यापार घाटा पनि बढेको छ । गएको वर्षको तुलनामा व्यापार घाटा १० दशमलव १५ प्रतिशतले बढेर ७ खर्ब ९७ अर्ब ४ करोड ८६ लाख रुपैयाँ कायम भएको विभागले जनाएको छ ।
नेपालबाट ६ महिनामा भएको कुल वस्तु निर्यात बराबरको रकमभन्दा नेपालमा इन्धन आयातको रकम धेरै रहेको छ । विभागका अनुसार पुससम्म पेट्रोलियम पदार्थ आयातमा १ खर्ब ५१ अर्ब बराबर विदेशिएकोमा कुल वस्तु निर्यातबाट १ खर्ब ४२ अर्ब रुपैयाँ मात्रै भित्रिएको छ ।
व्यापार घाटा बढेको भए पनि वैदेशिक व्यापार बढ्नुलाई बजार चलायमान हुन थालेको सङ्केतका रूपमा बुझ्नुपर्ने र यो अर्थतन्त्र सुधारका लागि महत्त्वपूर्ण रहेको विज्ञहरू बताउँछन् ।


