२०८२ माघ ८ बिहिवार , ०१:५६:१८ बजे

Sajhamanch
'

न्युजिल्यान्डको एक पर्यटकीय क्षेत्रमा पहिरोमा परि केही मानिस बेपत्ता

बिहिवार, माघ ८, २०८२

झापा । न्युजिल्यान्डको प्रमुख पर्यटकीय क्षेत्र माउन्ट माउन्गानुईमा पहिरोमा परेर कम्तीमा एक बालिकासहित धेरै मासिन बेपत्ता भएका छन् । बीबीसीका अनुसार बेपत्ता व्यक्तिहरूको यकिन सङ्ख्या अहिलेसम्म सार्वजनिक गरिएको छैन ।

न्युजिल्यान्ड राष्ट्रिय अग्नि तथा आपतकालीन सेवाका कमाण्डर विलियम पाइकेले पहिरोपछि प्रारम्भिक रूपमा भग्नावशेषबाट मानिसको आवाज सुनिएको बताउनुभएको छ । तर थप पहिरो खस्ने जोखिम बढेपछि सुरक्षाका कारण उद्धारकर्मीहरूलाई केही समयका लागि घटनास्थलबाट फिर्ता बोलाइएको खबरमा उल्लेख छ ।

उद्धार कार्यमा खोजी कुकुर, दुईवटा उत्खनन मेसिन तथा आपतकालीन उद्धार टोली परिचालन गरिएको छ । यद्यपि अहिलेसम्म कसैलाई पनि जीवित उद्धार गर्न सकिएको छैन ।

स्थानीय सञ्चारमाध्यमका अनुसार केही व्यक्तिहरूले क्याम्पग्राउन्ड छोड्दा सम्बन्धित अधिकारीहरूलाई जानकारी नदिएकाले बेपत्ताको वास्तविक सङ्ख्या निर्धारण गर्न कठिनाइ भइरहेको छ ।

माउन्ट माउन्गानुई न्युजिल्यान्डको उत्तर टापुमा अवस्थित एक प्राचीन ज्वालामुखी पहाड हो । यो ठाउँ समुद्री दृश्य, पदयात्रा मार्ग तथा सुन्दर समुद्र तटका लागि प्रसिद्ध छ । साथै, यो क्षेत्र माओरी समुदायका लागि पवित्र स्थलका रूपमा समेत मानिन्छ ।

यसैबीच न्युजिल्यान्डको उत्तर टापुका विभिन्न भागमा निरन्तर वर्षा र तीव्र हावाका कारण जनजीवन प्रभावित भएको छ । तल्लो भू–भागमा बसोबास गर्ने नागरिकहरूलाई सुरक्षित ठाउँमा सर्न भनिएको छ भने हजारौँ घरपरिवार विद्युत् सेवाबाट वञ्चित भएका छन् ।

सम्बन्धित खबर