
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्म पूर्वी नाका काँकडभिट्टाबाट रु. नौ अर्ब ७७ करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ ।
यहाँबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ, मट्टितेल गरी रु. नौ अर्ब ७७ करोड दुई लाख ३२ हजार मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको हो ।
मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईँका अनुसार अघिल्लो आव २०८१/८२ को सोही अवधिको तुलनामा रु. ५१ करोड ५९ लाख ४३ हजार अर्थात् पाँच दशमलव ६० प्रतिशतले पेट्रोलियम पदार्थको आयातमा वृद्धि भएको छ । आयात बढेसँगै पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व पाँच दशमलव ७० प्रतिशत अर्थात् रु. २५ करोड ४२ लाख ४० हजारले बढेको उनले जानकारी दिनुभयो ।
कार्यालयको तथ्याङ्कअनुसार चालु आवको छ महिनामा पेट्रोलियम पदार्थ आयातबाट रु. चार अर्ब ७४ करोड ९४ लाख ३६ हजार राजस्व सङ्कलन भएको छ । उक्त अवधिमा रु. चार अर्ब ७२ करोड छ लाख मूल्य पर्ने ५३ हजार १५२ किलोलिटर पेट्रोल आयात भएको थियो ।
यसैगरी रु. तीन अर्ब २२ करोड ६५ लाख मूल्य पर्ने ३३ हजार ७४४ किलोलिटर डिजेल आयात भएको छ । यस्तै, छ महिनाको अवधिमा रु. एक अर्ब २४ करोड सात लाख मूल्य पर्ने १२ हजार ८११ मेट्रिक टन एलपी ग्यास, रु. ३७ करोड ९४ लाख मूल्य पर्ने चार हजार ११२ किलोलिटर एटिएफ र रु. नौ करोड पाँच लाख मूल्य पर्ने ९६४ किलोलिटर मट्टितेल आयात भएको कार्यालयको तथ्याङ्क छ ।


