२०८२ माघ ७ बुधवार , ११:५०:१५ बजे

Sajhamanch
'

बिर्तामोडको श्री गायत्री माता मन्दिरमा माघ ९ गते प्रथम वार्षिक उत्सव

बुधवार, माघ ७, २०८२

बिर्तामोड । झापाको बिर्तामोड ५ स्थित गायत्री माता मन्दिरको प्रथम वार्षिकोत्सवको अवसरमा माघ ९ गते भजन गायक राजु अधिकारी, रोशन अधिकारी र गुञ्जन दाहालसहितको टोलीले साँझ संगीतमय भजन प्रस्तुत गर्ने कार्यक्रम बनाएको छ ।

आज गायत्री माता मन्दिरमा पत्रकार सम्मेलन आयोजना गरी वैदिक सनातन हिन्दू धर्म अन्तर्गत अत्यन्तै महत्त्वपूर्ण स्थान ओगट्ने वेदमाता गायत्री माताप्रतिको आस्था र जनविश्वासलाई अझ मजबुत बनाउने उद्देश्यसहित वार्षिक उत्सव गर्न लागिएको जनाइयो ।

नेपालमा सिमित मात्रामा मात्र गायत्री माताको मन्दिर रहेको जानकारी गराउँदै मन्दिर सञ्चालक समितिले उक्त मन्दिर छोटो समयमै आस्थाको केन्द्रका रूपमा स्थापित हुँदै गएको दावी पनि गरेको छ। करिब अढाई करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न गरिएको सो मन्दिरले सञ्चालनको पहिलो वर्षमै व्यापक जनसमर्थन र श्रद्धा प्राप्त गरेको जनाइएको छ।

मन्दिर सञ्चालनमा आएको पहिलो वर्षमै २ लाखभन्दा बढी भक्तजनले दर्शन गरिसकेको एवम् अर्जुनधारा जलेश्वर धामपछि पूर्वकै बढी भक्तजन आउने धार्मिक स्थलका रूपमा श्री गायत्री माता मन्दिर परिचित बन्दै गएको सञ्चालकहरुले जनाएका छन् ।

प्रथम वार्षिक उत्सवका अवसरमा मन्दिर स्थापना तथा निर्माणमा सहयोग पुर्‍याउने ७५ जना दातालाई सम्मान गरिने व्यवस्थापन समितिका संयोजक रौनक वंशलले जानकारी दिनुभएको छ । उहाँका अनुसार सरस्वती पूजाका दिन विशेष पूजा–अनुष्ठान, धार्मिक प्रवचन तथा विविध सांस्कृतिक कार्यक्रमहरूको आयोजना गरिनेछ भने साँझ संगीतमय भजन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

मन्दिर व्यवस्थापन समितिका सल्लाहकार सदस्य प्रशान्त भण्डारीले प्रेस विज्ञप्ति वाचन गरी पत्रकारहरुलाई कार्यक्रमबारे जानकारी गराउनु भएको थियो भने अर्का सल्लाहकार सदस्य स्वस्तिका आचार्यले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो।

सम्बन्धित खबर