२०८२ माघ ७ बुधवार , ०७:१८:१३ बजे

Sajhamanch
'

टिकट बाँढ्ने चटारो सकिएपछि दलहरू घोषणापत्र बनाउन व्यस्त

बुधवार, माघ ७, २०८२

काठमाडौं । फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य चुनावका लागि प्रत्यक्षतर्फका उम्मेदवारहरूको मनोनयनपत्र दर्ता सकिएसँगै दलहरू घोषणापत्र तयारीमा व्यस्त भएका छन् ।

नेपाली कांग्रेसले यही माघ १० गते घोषणापत्र सार्वजनिक गर्ने जनाएको छ । कांग्रेसका महामन्त्री प्रदीप पौडेलले घोषणापत्रमा आर्थिक उन्नति र विकासका विषयसहित प्रधानमन्त्री पदका उम्मेदवारको नामसमेत उल्लेख हुने बताउनुभयो ।

अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको दाबेदार प्रस्तुत गरेको नेकपा (एमाले)ले यसपालि राष्ट्रिय स्वाभिमान, लोकतन्त्र र संविधान संशोधन मुख्य मुद्दा बनाउने उपाध्यक्ष रामबहादुर थापा बादलले बताउनुभयो ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सुशासन, समृद्धि र राष्ट्रिय स्वाधीनतालाई प्राथमिकतामा राखेर घोषणापत्र तयार गरिरहेको जनाएको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आर्थिक विषय र सुशासनलाई केन्द्रमा राखेर वाचापत्र ल्याउने जनाएको छ ।

निजी क्षेत्रका प्रतिनिधिहरूले दलहरूलाई अर्थतन्त्रमा केन्द्रित भएर घोषणापत्र बनाउन आह्वान गरेका छन् ।

निर्वाचन आयोगको नियमअनुसार मतदानभन्दा १७ दिन अगाडिदेखि प्रचारप्रसार शुरू हुने र मतदानभन्दा ४८ घण्टा अगाडिदेखि मौन अवधि शुरू हुने भएकाले दलहरूले प्रचारप्रसारका लागि १५ दिन मात्र समय पाउने छन् ।

सम्बन्धित खबर