२०८२ माघ ७ बुधवार , ०८:३८:५२ बजे

Sajhamanch
'

एमालेबाट १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी

बुधवार, माघ ७, २०८२

काठमाडौं । नेकपा (एमाले)ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ। यसपटक एमालेले केही निर्वाचन क्षेत्रमा नयाँ अनुहार समेटेको छ।

यसपालि एमालेले अगाडि सारेको सिंगो उम्मेदवार संख्यामध्ये ५४.५४ प्रतिशत नयाँ अनुहार रहेको केन्द्रीय प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले जानकारी दिनुभयो।

उहाँका अनुसार मधेस र सुदूरपश्चिममा ५०/५० प्रतिशत र कोशीमा ५३.५७ प्रतिशत उम्मेदवार नयाँ अनुहार समेटिएका छन्। सबभन्दा धेरै नयाँ उम्मेदवार कर्णाली प्रदेशमा ७५ प्रतिशत र कम लुम्बिनीमा ४२.३० प्रतिशत रहेको उहाँको भनाइ छ।

बागमती र गण्डकीमा यो संख्या क्रमशः ६०.६० प्रतिशत र ६१.११ प्रतिशत रहेको पनि उहाँले बताउनु भयो। एमालेले प्रत्यक्षतर्फ थोरै महिलालाई मात्रै उम्मेदवार बनाएको छ।

तनहुँ–१ बाट भगवती न्यौपाने, बर्दिया–२ बाट विमला विक, बागलुङ–२ बाट मञ्जु शर्मा चालिसे, धनुषा–३ बाट जुली महतो, बारा–३ बाट ज्वालाकुमारी साह, पर्सा– रिमाकुमारी यादव, सुनसरी–३ बाट भगवती चौधरी, सोलखुम्बुबाट कल्पना राई, ओखलढुंगाबाट अस्मिता थापा, उदयपुर–१ बाट दुर्गा थापा स्वस्ती उम्मेदवार बनेका छन्।