२०८२ माघ ७ बुधवार , ०६:२४:२८ बजे

Sajhamanch
'

पूर्वी पहाडका ५ जिल्लामा ८५ जना उम्मेदवार, महिला ३ जना मात्रै

बुधवार, माघ ७, २०८२

पाँचथर । पूर्वी पहाडी जिल्लामा २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा महिला उम्मेदवारको संख्या निक्कै कम देखिएको छ । राजनीतिक दलहरूले महिलालाई प्राथमिकतामा नराख्दा महिला उम्मेदवारको संख्या कम देखिएको हो ।

पाँचथर, इलाम, ताप्लेजुङ, तेह्थुम र धनकुटामा मनोनय दर्ताको अवस्था हेर्दा महिला उम्मेदवारको संख्या न्यून छ । यी ५ जिल्लामा ८५ मध्ये ३ जना मात्रै महिला उम्मेदवार छन् ।

जेनजी आन्दोलनपछि हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा यी जिल्लाहरूमा ५० वर्षदेखि माथिका उम्मेदवारहरूको वर्चस्व देखिन्छ । पाँचथरमा ६, इलाम-१ मा ९, इलाम-२ मा ६, ताप्लेजुङमा ६, तेह्रथुममा ५ र धनकुटामा ३ जना उम्मेदवार ५० वर्षदेखि माथिका छन् ।

यी ५ जिल्लामा २०-३० वर्ष उमेर समूहका ३, ३०-४० वर्ष उमेर समूहका २३, ४०-५० वर्ष उमेर समूहका २४ र ५०-७० वर्ष उमेर समूहका ३५ जना उम्मेदवार छन् ।

१५ जनाको उम्मेद्वारी परेको पाँचथर र १३ जना उम्मेद्वार रहेको ताप्लेजुङमा महिलाको उम्मेदवारी शून्य छ । १३ जना उम्मेदवार रहेको इलाम–१ मा दुई जना महिला उम्मेदवार छन् । यहाँ राप्रपाले ज्वाला नेपाल र नेपाल मजदुर किसान पार्टीले तुल्सीकेशर प्रजापतिलाई उम्मेदवार बनाएको छ ।

यस्तै इलाम–२ मा पनि महिला उम्मेदवार शून्य छ । तेह्थुममा १२ मध्ये एक महिला रहेकी छन् । यहाँ राष्ट्रिय परिवर्तन पार्टीले उषा लक्ष्मी तुम्बाहाफेलाई उम्मेदवार बनाएको छ । धनकुटामा पनि महिलाको उम्मेदवारी परेको छैन ।

सम्बन्धित खबर