
काठमाडौँ । सभामुख देवराज घिमिरेले तीन वर्ष पूरा भएसँगै संविधानतः कार्यकाल समाप्त भएको उल्लेख गर्नु भएको छ । कार्यकालको समाप्तिसँगै संविधानले प्रदान गरेको जिम्मेवारी निर्वाह गर्ने क्रममा सहयोग गर्ने सबैप्रति उहाँले धन्यवाद ज्ञापन गर्नु भएको छ ।
आफ्नो कार्यकालमा प्रतिनिधि सभाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ बनाउने तथा संविधान कार्यान्वयनका लागि कानुन निर्माण, नीतिगत बहस तथा कार्यपालिकामाथि प्रभावकारी निगरानीमार्फत महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उहाँले बताउनु भएको छ ।
विचार, दृष्टिकोण र राजनीतिक मतभेदका बाबजुद पनि सदनले संविधानको सर्वोच्चता, संसदीय मर्यादा र नेपाली जनताको आकाङ्क्षालाई केन्द्रमा राखी आफ्नो कर्तव्य पूरा गरेको घिमिरेको दाबी छ ।
‘सरकार र प्रतिपक्षमा रहनु भएका सबै राजनीतिक दलहरूले संसदीय बहसलाई समृद्ध तुल्याउँदै लोकतान्त्रिक मूल्य र सन्तुलन कायम गर्न खेलेको भूमिकाको म उच्च कदर गर्दछ’ ।
संसदीय समितिहरूले विधेयक परीक्षण, सरकारी कार्यसम्पादनको अनुगमन तथा सरोकारवालासँगको अन्तरक्रियामार्फत जिम्मेवारीपूर्वक कार्य सम्पादन गर्नुभएकोमा म हार्दिक प्रशंसा व्यक्त गर्दछुु सन्देशमा उहाँले भन्नु भएको छ ।


