२०८२ माघ ४ आइतवार , ०८:१८:३५ बजे

Sajhamanch
'

ट्रम्पको धम्कीविरुद्ध ग्रीनल्यान्डमा विशाल प्रदर्शन

आइतवार, माघ ४, २०८२

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीपूर्ण अभिव्यक्तिको विरोध गर्दै ग्रीनल्यान्डमा हजारौँ नागरिक सडकमा आएका छन् ।

कठ्याङ्ग्रिने हिउँ र बरफबीच राजधानी नुकका बासिन्दाले विरोधका प्लेकार्ड बोकेर राष्ट्रिय झण्डा फहराउँदै र ‘ग्रीनल्यान्ड बिक्रीका लागि होइन’ भन्ने नारा लगाउँदै आफ्नै स्वशासन र सार्वभौमिकताको समर्थन जनाएका समाचार संस्था एपीले जनाएको छ ।

प्रदर्शनकारीहरू नुकको सानो डाउनटाउन क्षेत्र हुँदै अमेरिकी वाणिज्य दूतावाससम्म पदयात्रा गर्दा त्यही दिन फ्लोरिडाबाट राष्ट्रपति ट्रम्पले फेब्रुअरीदेखि आठ युरोपेली देशका सामानमा १० प्रतिशत आयात कर लगाउने घोषणा गर्नुभएको खबर सार्वजनिक भएको थियो । यस घोषणाले प्रदर्शनकारीहरूमा थप आक्रोश पैदा गरेको खबरमा उल्लेख छ ।

ट्रम्पको पछिल्लो कदमले अरू राष्ट्र र नागरिकप्रति कुनै संवेदनशीलता नदेखाएको स्पष्ट भएको स्थानीय युवा मलिक डोलेरुप–शेबेलले बताउनुभयो । राष्ट्रपति ट्रम्पले विगतदेखि नै रणनीतिक रूपमा महत्त्वपूर्ण र खनिज स्रोतले धनी ग्रीनल्यान्डलाई अमेरिकाले आफ्नो स्वामित्वमा लिनुपर्ने धारणा सार्वजनिक गर्दै आउनुभएको छ । ग्रीनल्यान्ड डेनमार्कको अधीनमा रहेको स्वशासित क्षेत्र हो ।

यसैबीच ग्रीनल्यान्डको समर्थनमा डेनमार्कका विभिन्न शहर तथा क्यानाडाको इनुइट–शासित क्षेत्र नुनाभुटको राजधानीमा समेत ऐक्यबद्धता र्‍यालीहरू आयोजना भएका थिए ।

नुकका प्रहरी अधिकारी टम ओल्सेनले शनिवारको प्रदर्शन आफूले देखेको सबैभन्दा ठूलो भएको जानकारी दिनुभयो ।