
काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षार्थ खुलाइएको निर्वाचन प्रहरीका लागि करिब २ लाखको आवेदन परेको छ ।
नेपाल प्रहरीअन्तर्गत खटाउन १ लाख ३३ हजार ९८० र सशस्त्र प्रहरी बल (एपीएफ) मातहत परिचालन गर्न १५ हजार ११० गरी कुल १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरीको आवेदन खुलाइएको थियो । जसका लागि कुल १ लाख ९६ हजार ४७० जनाको आवेदन परेको हो ।
निर्वाचन प्रहरीमा भर्ना हुन आवेदन दिनेमा विगतका निर्वाचनमा म्यादी प्रहरी भई काम गरेका २६ हजार ६३१, पूर्वप्रहरीबाट ६७४, पूर्वसेनाबाट १ हजार ६७३, पूर्वसशस्त्र प्रहरीका २२८ र पूर्ववन रक्षक १५३ जनाको पनि आवेदन परेको छ । आवेदन दिने बाँकी १ लाख ६७ हजार ५७ जना सर्वसाधारण छन् ।
अब आवेदकमध्येबाट छनोट प्रक्रिया अघि बढाइनेछ । यसका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्लास्थित कार्यालयबाट छनोट प्रक्रिया अघि बढाउन लागिएको हो ।
सोमबार (माघ ५) बाटै छनोट प्रक्रिया अघि बढाउन लागिएको हो । २५ पुसदेखि १ माघसम्मको अवधि तोकेर निर्वाचन प्रहरी भर्नाको दरखास्त खुलाइएकामा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका ३६ जिल्लामा कम आवेदन परेपछि समय थप गरिएको थियो ।
जसअनुसार कम आवेदन परेका जिल्लामा ३ माघसम्म दरखास्त अवधि बढाइएको थियो । थप भएकोसहित गरेर नेपाल प्रहरी र सशस्त्र प्रहरीमार्फत १ लाख ९६ हजार ४७० जनाको आवेदन परेको हो ।
गृह मन्त्रालयले ४० दिनको कार्यावधि तोकेर नेपाल प्रहरी र सशस्त्र प्रहरी बल मातहत खटाउने गरी निर्वाचन प्रहरी भर्ना, परिचालन तथा खटनपटनसम्वन्धि कार्यविधि जारी गरेको थियो ।
मंसिर २०७९ को प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सुरक्षामा १ लाख १५ हजार म्यादी प्रहरी भर्नाका लागि आवेदन खुलाइएकामा दोब्बर अर्थात् २ लाख ३२ हजार ८८ जनाको दरखास्त परेको थियो ।
वैशाख २०७९ को स्थानीय तह निर्वाचनमा करिब १ लाख म्यादी प्रहरीको आवेदन खुलाइएकामा तेब्बर अर्थात् करिब ३ लाखले दरखास्त दिएका थिए । यो पटकको चुनावमा भने आवेदन दिने तुलनात्मक कम देखिएका हुन् ।
२१ फागुनका लागि तय भएको प्रतिनिधिसभा निर्वाचन सुरक्षामा करिब ३ लाख ३७ हजार सुरक्षाकर्मी परिचालन गर्ने गरी सुरक्षा योजना स्वीकृत भइसकेको छ । त्यसका लागि नियमिततर्फ सेना, प्रहरी र सशस्त्र अनि अपुग सुरक्षाकर्मी निर्वाचन प्रहरीका रुपमा ४० दिन कार्यअवधि तोकेर पूर्ति गरिँदै छ ।
निर्वाचन प्रहरीमा भर्ना हुनेले प्रहरी र सशस्त्र प्रहरीका जवानले पाउने आधारभूत तलबमान र लत्ताकपडा तथा जवानसरहको रासन भत्ता पाउनेछन् । ‘निर्वाचन प्रहरी भर्ना, छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी एकीकृत (प्रहरी र सशस्त्र प्रहरी बल नेपाल) कार्यविधि–२०८२ अनुसार एक निर्वाचन प्रहरीलाई दैनिक ८६९ रुपैयाँ ४० पैसाले हुने ४० दिनको ३४ हजार रुपैयाँ तलब र जिल्ला दर निर्धारण समितिले तोकेअनुसार सुरक्षाकर्मीले पाएसरह ४० दिनको रासन भत्ता (जिल्लाअनुसार फरक–फरक) पाउनेछन् ।
निर्वाचनमा खटाइएको ठाउँमा जान र फर्किनलाई एक पटकका लागि प्रतिव्यक्ति ८४६ रुपैयाँ (यातायात भत्ता), चार दिनका लागि प्रतिदिन ३०० रुपैयाँका दरले खाजा खर्चबापत एकमुष्ट १ हजार २०० रुपैयाँ तथा जिल्लाको मौसमअनुसार प्रहरी र सशस्त्रले त्यस जिल्लामा निर्धारण गरेको पोसाक भत्ताअनुसार एकसरो कपडाको खर्च उपलब्ध गराइने उल्लेख छ । यसरी दिइने सबै रकम सम्बन्धित निर्वाचन प्रहरीको बैंक खातामा पठाइनेछ ।
निर्वाचनमा खटिने यो जनशक्ति कर्तव्य पालनाका क्रममा घाइते भए घाइते स्वयंलाई र मृत्यु भए नजिकको हकवालालाई सरकारले तोकेअनुसारको क्षतिपूर्ति रकम उपलब्ध गराइनेछ । कुनै कारणले निर्वाचन रद्द भए वा स्थगित भए तालिममा रहेको भए पनि नियुक्ति स्वतः रद्द/बदर हुने कार्यविधिमा उल्लेख छ ।
निर्वाचन आयोगले आसन्न चुनावमा देशभर १० हजार ९६७ मतदान स्थल र २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिसकेको छ । निर्वाचनमा भित्री घेरा प्रहरी र निर्वाचन प्रहरी, त्यसपछि जोखिमका आधारमा सशस्त्र प्रहरी र बाहिरी सुरक्षा व्यवस्थापनमा सेना खटाउने गरी सुरक्षा कार्ययोजना बनेको छ ।
गृह मन्त्रालयले निर्वाचन प्रहरी भर्ना छनोट गर्न जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा भर्ना छनोट समिति बनाइसकेको छ ।
भर्ना हुन दरखास्त गर्न पाउने अन्तिम मितिसम्म १८ वर्ष उमेर पूरा भई ५४ वर्ष उमेर ननाघेको हुनुपर्ने मापदण्ड तोकिएको थियो । साधारण लेखपढ गर्न जान्ने, नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, भर्ना हुने समयमा कुनै दलको सदस्यता नपाएको, शारीरिक र मानसिक रूपमा स्वस्थ, आतंककारी तथा विध्वंसात्मक संगठनको सदस्य नभएको, नेपाली नागरिक हुनुपर्ने योग्यता तोकिएको छ ।
पुरुषको हकमा कम्तीमा ५ फिट उचाइ, छातीको चौडाइ ३१ देखि ३३ इन्च, ५० केजी तौल तथा महिलाको हकमा कम्तीमा ४ फिट १० इन्च उचाइ, ४२ केजी तौल र गर्भवती नभएको हुनुपर्ने मापदण्ड तोकिएको छ । तोकिएका मापदण्डअनुसार आबेदन परे–नपरेको जाँच गरेर छनोट प्रक्रिया टुंग्याउने तयारी दुवै सुरक्षा निकायको छ ।


