२०८२ माघ ४ आइतवार , ०९:१७:१७ बजे

Sajhamanch
'

शीर्ष नेता उठ्न लागेका यी ६ क्षेत्रमा कस्तो थियो ०७९ को परिणाम

आइतवार, माघ ४, २०८२

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि आइतबारसम्म अधिकांश राजनीतिक दलले उम्मेदवारी टुंगो लगाइसकेका छन् ।

नेपाली कांग्रेसले विभाजन र आन्तरिक विवादका कारण उम्मेदवार टुंगो लगाउन सकेको छैन । राष्ट्रिय स्वतन्त्र पार्टीसहितले आइतबार र सोमबारमा उम्मेदवारी सार्वजनिक गर्ने तयारी गरेका छन् ।

सार्वजनिक विवरणअनुसार अधिकांश दलका शीर्ष नेताहरूले पुरानै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने तयारी गरेका छन् । नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले गोरखा २ छाडेर रुकुमपूर्व रोजेका छन् ।

पार्टीको उथलपुथलले कांग्रेस सभापति पद र शक्ति दुवै गुमाएका शेरबहादुर देउवा उठ्ने नउठ्ने टुंगो भएको छैन । यद्यपि जिल्ला कार्यसमितिबाट उनको नाम सर्वसम्मत सिफारिस हुने अवस्था छ। तर कांग्रेसका कमान्ड गगन थापाको हातमा गएसँगै उनले चुनाव उठ्ने नउठ्ने निश्चित छैन ।

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म निर्वाचन क्षेत्रको घोषणा गरेका छैनन् । जनता समाजवादी पार्टी नेपलाका अध्यक्ष उपेन्द्र यादवले टुंगो लगाइसकेका छैनन् । यद्यपि उनी सप्तरी छाडेर बारा आउने सम्भावना बलियो छ ।

जेन–जी आन्दोलनपछि देशमा पुराना राजनीतिक दल नेताहरूप्रति नकारात्मक धारणा राख्नेको संख्या बढेको छ । जसले गर्दा आगामी निर्वाचनमा कुनै दल वा नेताको पक्षमा प्राप्त हुने मत विगतकै स्तरमा नहुने अनुमान गर्न सकिन्छ ।

तर, आगामी निर्वाचनका लागि शीर्ष राजनीतिक नेतृत्वहरूले रोजेको निर्वाचन क्षेत्रमा कुन पार्टीले कति मत प्राप्त गरेका थिए भन्ने महत्वपूर्ण विषय हुन्छ । हेरौँ, शीर्ष नेतृत्वको निर्वाचन क्षेत्रमा ०७९ मंसिरमा खसेको मतपरिणाम :

झापा ५
एमाले– केपी शर्मा ओली, ५२ हजार ३१९
कांग्रेस– डा. खगेन्द्र अधिकारी २३ हजार ७४३
रास्वपा– सुरेशकुमार पोख्रेल ११ हजार ७५९

झापा ५ मा यसपटक पनि एमालेका अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी दिने भएका छन् । उक्त निर्वाचन क्षेत्रमा ओलीलाई हराउने उद्देश्यले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट बालेन्द्र साह ‘बालेन’ ले टिकट लिने चर्चा छ । तर, अहिलेसम्म सो पार्टीले आधिकारिक घोषणा गरिसकेको छैन ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले उक्त निर्वाचन क्षेत्रका लागि अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष रञ्जित तामाङलाई टिकट दिएको छ ।

०७९ सालको निर्वाचनमा केपी ओली राष्ट्रिय प्रजातन्त्र पार्टीको पनि समर्थन लिएर विजयी भएका थिए । तर, ०७९ सालमा माओवादीको समर्थनसहित प्रतिस्पर्धी कांग्रेसले आन्तरिक विवादका कारण अहिलेसम्म टिकट टुंग्याउन सकेको छैन ।

रुकुम पूर्व
माओवादी–पूर्णबहादुर घर्ती, १२ हजार २२६
एमाले– कैलाशकुमार मल्ल, ५ हजार २११
अन्य पार्टीको १ हजारभन्दा कम मत आएको छ ।

प्रतिनिधिसभाका सबै चुनावमा क्षेत्रमा फेर्दै आएका नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसपटक रुकुम पूर्वबाट उठ्ने घोषणा गरेका छन् । माओवादी सशस्त्र युद्धका बेला आधारक्षेत्र यहाँ ०७९ सालमा माओवादीले कांग्रेस–एमाले गठबन्धनलाई दोब्बर मतले पराजित गरेको थियो ।

त्यही कारण प्रचण्डले यसपटकको निर्वाचनमा सो निर्वाचन क्षेत्रबाट आफ्नो सहज जित हुनसक्ने अनुमान गरेको देखिएको छ ।

चितवन २
रास्वपा– रवि लामिछाने, ४९ हजार ३००
कांग्रेस– उमेश श्रेष्ठ, १४ हजार ९८८
एमाले– कृष्णभक्त पोख्रेल, १४ हजार ६५२

चितवन क्षेत्र नम्बर २ बाट यसपटक पनि रास्वपा सभापति लामिछानेले उम्मेदवारी दिने भएका छन् । ०७९ सालको निर्वाचनमा कांग्रेस–माओवादी गठबन्धन र एमाले उम्मेदवारलाई उनले भारी मतले पराजित गरेका थिए ।

पछिल्लो समय रास्वपाको पक्षमा देखिएको माहोल र विगतको मतपरिणामका आधारमा उक्त निर्वाचन क्षेत्रबाट लामिछाने नै विजयी हुन सक्ने धेरैले अनुमान गरेका छन् । तर, विगतकै आधारमा लामिछानेले मत प्राप्त गर्न सक्दैनन् कि भन्ने चुनावको प्रतिक्षा गर्नुपर्ने भएको छ ।

सप्तरी २
जनमत– डा. चन्द्रकान्त राउत (सीके), ३५ हजार ४२
जसपा– उपेन्द्र यादव, १६ हजार ९७९
लोसपा– जयप्रकाश ठाकुर, ७ हजार ३४७

स्वायत्त मधेस प्रदेशको माग राखेर लामो संघर्ष पश्चात् नेपाली राजनीतिमा उदाएको जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके) ले यसपटक पनि सप्तरी २ बाट उम्मेदवारी दिने भएका छन् ।

उनले ०७९ सालको निर्वाचनमा प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई राउतले दोब्बर मतले पराजित गरेका थिए ।

तर, पछिल्लो समय उनले आफ्नो वैचारिक अभियान र संगठनात्मक पक्षलाई बलियो बनाउन नसकेका कारण मत परिणाम फरक हुनसक्ने अनुमान पनि गर्न सकिन्छ । यहाँ उठेका यादव बारा जाने चर्चा छ । यसो भएमा सीकेले फेरि चुनाव जित्ने आधार त्यही हुन सक्छ ।

सुनसरी– १
जसपा– अशोककुमार राई, १७ हजार ५९
रास्वपा– गोमा तामाङ, १६ हजार ६०६
माओवादी– मुक्सामहाङ्ग सुब्बा, १३ हजार ७८
राप्रपा– अशोककुमार राई, ७ हजार ८४

यस निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवारहरूले पनि राम्रो मत प्राप्त गरेका थिए ।

धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ पछिल्लो राष्ट्रिय राजनीतिमा चर्चाका पात्र बनेका छन् । उनले पूर्वका केही जिल्लामा राम्रो जनप्रदर्शन पनि गरिरहेका छन् ।

फागुन २१ गते हुने निर्वाचनमा साम्पाङले सुनसरी १ बाट उम्मेदवारी दिने घोषणा गरेका छन् । पहिलो पटक प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिन लागेका साम्पाङको निर्वाचन क्षेत्रमा ०७९ मा जनता समाजवादी पार्टी (जसपा) नेता अशोक राईले जित हासिल गरेका थिए ।

स्वतन्त्र उम्मेदवारहरूले पनि राम्रो मत प्राप्त गरेको उक्त निर्वाचन क्षेत्रमा रास्वपा र माओवादी मुख्य प्रतिस्पर्धीका रूपमा थिए ।