२०८२ माघ २ शुक्रवार , ०७:४८:४६ बजे

Sajhamanch
'

माघे संक्रान्तिका दिन झापामा १० वटा दुर्घटना : तीन जनाको मृत्यु, २८ घाइते

शुक्रवार, माघ २, २०८२

झापा । माघे सङ्क्रान्तिका दिन झापामा १० वटा दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् ।

हिजो बिहान ९ः३० बजे कनकाई माई मेला जाँदै गरेको मे. १ च ४५१५ न. को पिकअप (मालबाहक) गाडी दुर्घटनामा परेको हो । पूर्वबाट जाँदै गरेको सो पिकअपलाई कनकाई – ३ नयाँ बस्तीस्थित पूर्वपश्चिम लोकमार्गमा माईधारबाट बिर्तामोडतर्फ आउँदै गरेको ना. ५ ख २१४९ न. को बसले ठक्कर दिएको थियो ।

दुर्घटनामा पिकअपमा सवार आमा छोरीको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । भद्रपुर ८ बस्ने आफुद राजवंशीकी श्रीमती ४० वर्षीया सुस्मा राजवंशी र उनकी छोरी डेढ वर्षीया आरुती राजवंशीको मृत्यु भएको हो । ४० वर्षीय आफुद राजवंशी र उनका अर्का छोरा १५ वर्षीय आशिष् राजवंशी घाइते भएका छन् ।

सो दुर्घटनामा मेचीनगर – १५ बस्ने वर्ष ६५ की फुलमणि मुर्मु , सोही ठाउँ बस्ने वर्ष ४२ की जमुना राजवंशी ,टिकेन्द्र राजवंशीका छोरा वर्ष ११ का अनिष राजवंशी , भद्रपुर ४ बस्ने वर्ष ४० का पुष्पलाल राजवंशी , भद्रपुर ९ बस्ने वर्ष ४० की टेमुना राजवंशी , शिवसताक्षी १० बस्ने वर्ष २९ की अन्जली राई , बिर्तामोड ३ बस्ने वर्ष २४ का अभिषेक राजवंशी ,मेचीनगर १५ बस्ने वर्ष १५ की कृतिका राजवंशी , भद्रपुर ४ बस्ने वर्ष ४५ की पाथल राजवंशी ,भद्रपुर ८ बस्ने वर्ष १८ की रिया मण्डल घाइते भएका छन् । उनीहरूको बिर्तासिटी र बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै हिजो साँझ ७ः५० बजे बिर्तामोड – ५ सिटीसेन्टरस्थित पूर्वपश्चिम लोकमार्गमा ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार श्रीमानको मृत्यु भएको छ भने श्रीमती घाइते भएकी छन् । बिर्तामोडबाट बुट्टाबारीतर्फ जाँदै गरेको ना. ८ ख २२९७ न. को ट्रक र बिपरित दिशाबाट आउँदै गरेको नम्बर नखुलेको (जलेर) मोटरसाइकल एक आपसमा ठक्कर खाएका थिए ।

मोटरसाइकल चालक हल्दिवारी ४ बस्ने वर्ष ३२ का खगेन्द्र मगरको मृत्यु भएको हो । मोटरसाइकलमा पछाडि सवार उनकी श्रीमती वर्ष २५ की सुकमाया तामाङ गंभीर घाइते छिन् । उनको बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापश्चात् मोटरसाइकलमा आफै आगलागी भई मोटरसाइकल पूर्णरुपमा जलेर नष्ट भएको छ ।

त्यस्तै हिजो बिहान ८ः३० बजे हल्दीवारी ४ मंगलबारेस्थित भित्री पक्की सडकखण्डमा मंगलबारेबाट बिर्तामोडतर्फ आउँदै गरेको मे. १ ह ५७०८ नं. को अटो रिक्सा र बिपरित दिसाबाट जाँदै गरेको प्र.१–०१–०१५ प २४३ नं. को मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा चारजना घाइते भएका छन् ।

अटो चालक हल्दीवारी ४ बस्ने वर्ष ४२ का राजु मेचे सकुशल छन् भने अटोमा सवार उनकी श्रीमती वर्ष ४० की मिना मेचे , उनका छोरा वर्ष २३ का अनन मेचे , मोटरसाइकल चालक बिर्तामोड ४ बस्ने वर्ष ३६ का कुशल अधिकारी र मोटरसाइकलमा पछाडि सवार उनकी आमा वर्ष ६५ की बुद्धिमाया अधिकारी घाइते भएका छन् । घाइतेहरुको बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै हिजो दिउँसो ४ः३० बजे शिवसताक्षी ११ स्थित झिलझिले –सतासीधाम भित्री पक्की सडकखण्डमा सतासीधामबाट झिलझिलेतर्फ आउँदै गरेको प्र. १–०१–०१४ प ०४२ न.को मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएर सोही दिशाबाट आउँदै गरेको प्र १–०१–०१५ प ००७२ न.को मोटरसाइकलले पछाडिबाट ठक्कर दिँदा ०४२ न।को मोटसाइकल पछाडि सवार शिबसताक्षी १ बस्ने वर्ष ४० का तिर्थबहादुर प्रधान घाइते भएका छन् । उनलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको छ ।

त्यस्तै हिजो साँझ ५ः४० बजे गौरादह ८ प्रगति चोकस्थित गौरीगंज– गौरादह भित्री सडकखण्डमा गौरीगंजबाट गौरादहतर्फ जाँदै गरेको प्र१–०१–००२ ह ४९३८ नम्बरको सिटी सफारी आफै अनियन्त्रित भई दुर्घटना हुँदा दुईजना घाइते भएका छन् । सिटी सफारीमा सवार गौरादह ७ बराल चोक बस्ने वर्ष ४२ का बुधलाल हस्दा र पाटागाडा बस्ने वर्ष १३ की तनु मुर्मु घाइते भएका हुन् । उनीहरुलाई उपचारका लागि लाईफलाईन अस्पताल दमक पठाइएको छ ।

त्यस्तै हिजो साँझ ७ः३० बजे दमक वडा नं.१ नगरपालिकास्थित भित्री सडकखण्डमा हाटखोलाबाट फाल्गुनन्द चोकतर्फ आउँदै गरेको प्र.न.१–०२–०५३ प.७५३५ नम्बरको मोटरसाइकललाई बिपरित दिशाबाट जाँदै गरेको अल्फाबेट नखुलेको ०६०२ नम्बरको सेतो रंगको बोलेरो पिकअप गाडीले ठक्कर दिँदा मोटरसाइकल चालक दमक ३ बस्ने वर्ष १९ का अनुभव चौधरी घाइते भएका छन् । उनलाई उपचारको लागि दमक अस्पताल दमक पठाइएको छ ।

त्यस्तै गएराति ८ बजे अर्जुनधारा ४ रातेखालस्थित शनिश्चरे– रातेखाल भित्री सडकखण्डमा रातेखालबाट शनिश्चरेतर्फ आउँदै गरेको प्र.१–०१–०१३प ९१२९ नं. को स्कुटी र विपरित दिशातर्फ जाँदै गरेको मे.५प. ६८७७ नं. को मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा स्कुटी चालक अर्जुनधारा ४ बस्ने वर्ष ३० का सुरज धिमाल ,सोही स्कुटीमा सवार निवास मल्लिककी छोरी वर्ष ६ की आयुसी मल्लिक र मोटरसाइकल चालक अर्जुनधारा ७ बस्ने वर्ष ५० का ज्ञानु भट्टराई घाइते भएका छन् । तीनैजनाको शंकर अस्पताल शनिश्चरेमा उपचार भइरहेको छ ।

त्यस्तै हिजो साँझ ५ः२५ बजे बुद्धशान्ति १ शान्ति चोकस्थित भित्री सडकखण्डमा भोटेटारबाट बुधबारेतर्फ आउने क्रममा मे ७ प ४०६३ नं. को मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक बुद्धशान्ति २ बस्ने वर्ष २७ का दिवस प्रधान , सोही मोटरसाइकलमा पछाडि सवार श्याम प्रधानका छोरा वर्ष १३ का शुभम् प्रधान र उनकी बहिनी २३ महिनाकी शुभश्री प्रधान घाइते भएका छन् । तीनै जना घाइतेको बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै गएराति १०ः५० बजे बाह्रदशी ४ चकचकीस्थित भित्री सडकखण्डमा लक्ष्मीपुरबाट फुलबारीतर्फ जाँदै गरेको मे.२प ७२०५ नं .को मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक बाह्रदशी ४ चकचकी बस्ने वर्ष २९ का लक्ष्मी ताजपुरिया घाइते भएका छन् । उनको बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै गएराति ११ बजे कनकाई नगरपालिका वडा नं.५ चप्रामारी चोकस्थित भित्री सडकखण्डमा सुरुङ्गाबाट शरणामतीतर्फ जाँदै गरेको तत्काल नम्बर नखुलेको मोटसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक मोरङ कानेपोखरी वडा नं. १ हर्कबारी बस्ने वर्ष २१ का सुरेश मर्डी र पछाडी सवार वर्ष १८ का सुनिल मुर्मु घाइते भएका छन् । घाइतेहरुलाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड ल्याइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर