
झापा । दक्षिण कोरियाली अदालतले पूर्वराष्ट्रपति युन सुक योललाई ‘मार्शल ल’ लागू गर्ने निर्णयसँग सम्बन्धित केही अभियोगमा दोषी ठहर गर्दै पाँच वर्षको जेल सजाय सुनाएको छ ।
सन् २०२४ को अन्त्यतिर पूर्वराष्ट्रपति युनले जारी गर्नुभएको आदेश तथा त्यससँग जोडिएका अन्य आरोपहरूमा दायर आठ वटा आपराधिक मुद्दामध्ये यो उहाँविरुद्धको पहिलो अदालत फैसला रहेको समाचार संस्था एपीले जनाएको छ ।
ती मुद्दाहरूमा उहाँको कदमले देशको संवैधानिक व्यवस्था र लोकतान्त्रिक प्रक्रियामा गम्भीर असर पारेको अभियोजन पक्षको दाबी रहेको छ ।
पूर्वराष्ट्रपति युनमाथि लागेको सबैभन्दा गम्भीर अभियोगमा उहाँले मार्शल ल कार्यान्वयनका सन्दर्भमा विद्रोहको नेतृत्व गरेको आरोप समावेश छ जसमा कानूनअनुसार मृत्युदण्डसम्मको सजाय हुनसक्ने प्रावधान रहेको छ । यद्यपि यो गम्भीर अभियोगमा अन्तिम फैसला आउन बाँकी नै छ ।
यस मुद्दासँग सम्बन्धित रूपमा सियोल केन्द्रीय जिल्ला अदालतले उहाँलाई हिरासतमा राख्ने अधिकारीहरूको आदेश अवहेलना गरेको लगायतका अन्य अभियोगमा दोषी ठहर गर्दै सजाय सुनाएको हो । अदालतले यी कार्यहरूलाई कानूनी शासनविरुद्धको गम्भीर चुनौतीको रूपमा व्याख्या गरेको छ ।
सन् २०२४ को डिसेम्बर महिनामा युनले अल्पकालीन रूपमा मार्शल ल लागू गरेपछि उहाँको कदमविरुद्ध देशभर आन्दोलन शुरू भएको थियो । ती प्रदर्शनहरूमा उहाँको निष्कासनको माग चर्किँदै गएपछि अन्ततः उहाँमाथि महाभियोग लगाइयो, पक्राउ गरियो र राष्ट्रपतिको पदबाट बर्खास्त गरियो ।


