२०८२ माघ २ शुक्रवार , ०७:१२:१२ बजे

Sajhamanch
'

कांग्रेस संस्थापन पक्षको चेतावनी– ‘आयोगले वैधानिकता नदिए देशभर आन्दोलन गर्छौँ’

शुक्रवार, माघ २, २०८२

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले निर्वाचन आयोगले आफूहरूलाई आधिकारिकता नदिए देशभर आन्दोलन गर्ने चेतावनी दिएको छ ।

पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उहाँले षड्यन्त्र र दबावमा परेर आयोगले पार्टी विधान र संविधान विपरीत निर्णय गरेमा वडा तहदेखि केन्द्रसम्म आन्दोलन चर्काउने चेतावनी दिनुभयो ।

उहाँले पार्टीको केन्द्रीय कार्यसमितिबाहेक कुनै पनि पदाधिकारीलाई विशेष महाधिवेशन बोलाउने अधिकार नभएको जिकिर गर्दै आफूहरू नै आधिकारिक भएको दाबी गर्नुभयो ।

खड्काले भन्नुभयो, ‘पार्टीको विधान, संविधान र निर्वाचनसम्बन्धी ऐन र दलसम्बन्धी ऐनको आधारमा भन्दा तलमाथि भएर यदि निर्वाचन आयोगले षड्यन्त्र र दबावमा परेर संविधान र लोकतन्त्रमाथि बडारिएको कालो बादललाई साथ दिँदै नेपाली कांग्रेसको विधान विपरीत अन्यथा निर्णय गर्‍यो भने देशभर आन्दोलन गर्नेबाहेक हामीसँग विकल्प हुने छैन । प्रत्येक ठाउँमा चारतारे झण्डा र रुख लिएर हामी अगाडि बढ्छौँ । हामीलाई निर्वाचन आयोगले त्यस्तो गर्छ भन्न लागेको छैन ।’

पुस अन्तिममा काठमाडौंमा सम्पन्न पार्टीको विशेष महाधिवेशनमार्फत नयाँ कार्यसमिति चयन भएपछि कांग्रेस विभाजित भएको छ । पार्टीको संस्थापन पक्ष र विशेष पक्ष वैधानिकताको लडाइँमा छन् ।

सम्बन्धित खबर