२०८२ पौष ३० बुधवार , ०७:३७:५४ बजे

Sajhamanch
'

अमेरिकी भन्सार वृद्धिका बाबजुद चीनको व्यापार अधिशेष १२ खर्ब डलरको ऐतिहासिक रेकर्डमा पुग्यो

बुधवार, पौष ३०, २०८२

झापा । चीनले सन् २०२५ मा आयातभन्दा १२ खर्ब अमेरिकी डलर धेरैको वस्तु तथा सेवा निर्यात गरेको छ । अमेरिकी भन्सार वृद्धिका बाबजुद चीनको व्यापार अधिशेष १२ खर्ब डलरको ऐतिहासिक रेकर्डमा पुगेको हो ।

अमेरिकामा निर्यात सुस्त भए पनि अन्य क्षेत्रीय र अन्तर्राष्ट्रिय बजारमा निर्यात विस्तार हुँदा समग्र अधिशेष उल्लेखनीय रूपमा बढेको आज सार्वजनिक भएको सरकारी तथ्याङ्कलाई उद्धृत गर्दै समाचार संस्था एपीले जनाएको छ ।

कुनै देशको कुल वस्तु र सेवा निर्यात त्यसको कुल आयातभन्दा बढी भएको अवस्थालाई अधिशेष भनिन्छ । यसलाई आर्थिक मजबुतीको सङ्केत मानिन्छ ।

चिनियाँ भन्सार प्रशासनका अनुसार सन् २०२५ मा चीनको कुल निर्यात ५ दशमलव ५ प्रतिशतले बढेर ३७ खर्ब ७० अर्ब डलर पुगेको छ । यस अवधिमा आयात भने घटेर २५ खर्ब ८० अर्ब डलरमा सीमित रहेको छ ।

सन् २०२४ मा चीनको व्यापार अधिशेष ९ खर्ब ९२ अर्ब डलर रहेको थियो । व्यापार युद्ध र भूराजनीतिक तनावका बाबजुद यस वर्ष निर्यातले चीनको अर्थतन्त्रलाई टेवा दिइरहने अर्थशास्त्रीहरूको अनुमान छ ।

अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प पुनः सत्तामा फर्किएपछि दुवै देशबीचको व्यापार युद्ध चर्किँदै जाँदा अमेरिकी बजारतर्फ चीनको निर्यात गएको वर्ष झन्डै २० प्रतिशतले घटेको देखिन्छ । यद्यपि दक्षिण अमेरिका, दक्षिणपूर्वी एशिया, अफ्रिका र युरोपका अन्य बजारमा निर्यात विस्तार हुँदा गिरावट धेरै हदसम्म सन्तुलनमा आएको खबरमा उल्लेख छ ।

विश्लेषकहरूका अनुसार कम्प्युटर चिप, विद्युतीय उपकरणतथा ती उत्पादनमा प्रयोग हुने सामग्रीहरूको बलियो विश्वव्यापी मागले चीनको निर्यातलाई समर्थन गरेको छ । यसका साथै गएको वर्ष चीनको कार निर्यातमा पनि उल्लेख्य वृद्धि देखिएको थियो ।

बलियो निर्यात प्रदर्शनले चीनको अर्थतन्त्रलाई वार्षिक झन्डै ५ प्रतिशतको आधिकारिक वृद्धिदर लक्ष्य नजिक पुर्‍याउन मद्दत गरेको छ । तर सस्तो चिनियाँ वस्तुहरूका कारण स्थानीय उद्योगहरूलाई असर गर्न सक्ने चिन्ताका कारण केही देशहरूमा चेतावनी र चासो पनि बढेको छ ।

सम्बन्धित खबर