
काठमाडौं । वाणिज्य बैंकहरूले माघ महिनाका लागि पनि ब्याजदर थप घटाएका छन् । उच्च तरलता तथा न्यून कर्जा प्रवाहको समस्याले लागातार ब्याजदर घटाइरहेका वाणिज्य बैंकहरूले माघ महिनाका लागि त्यसलाई निरन्तरता दिएका हुन् ।
२० मध्ये १२ वटा बैंकले पुस महिनाको तुलनामा माघ महिनाका लागि ब्याजदर घटाएका छन् । ७ वटाले स्थिर राखेका छन् भने प्राइम बैंकले सामान्य बढाएको छ । बैंकले दिने अधिकतम ब्याजदर औसतमा पुसको तुलनामा माघमा शून्य दशमलव १४९५ प्रतिशत विन्दुले झरेको छ ।
पुसमा व्यक्तिगत मुद्दतीमा दिने अधिकतम ब्याजदर औसत ४ दशमलव ८५ प्रतिशत रहेकोमा माघमा यस्तो औसत ब्याजदर ४ दशमलव ७ प्रतिशतमा झरेको छ ।
माघ महिनामा सबैभन्दा धेरै ब्याज ग्लोबल आईएमई बैंकले ५ दशमव ५ प्रतिशत दिनेछ भने सबैभन्दा कम स्ट्यान्डर्ड चार्टर्ड बैंकले ४ दशमलव ३६ प्रतिशत दिनेछ । बैंकहरूसँग ११ खर्ब रुपैयाँभन्दा धेरै कर्जा दिन मिल्ने रकम रहेको छ ।
कर्जा नगएपछि पछिल्लो समय बैंकहरूले ३ प्रतिशत र २ दशमलव ६७ प्रतिशत ब्याजदरमा राष्ट्र बैंकमा लगेर पैसा राखिरहेका छन् । वित्तीय प्रणालीबाट राष्ट्र बैंकले ८ खर्ब ७३ अर्ब रूपैयाँ खिचिसकेको भए पनि बैंकमा लगानी योग्य रकम पर्याप्त छ ।


