
झापा । नेकपा (एमाले) झापाका अध्यक्ष प्रेम गिरीले झापा-५ बाट केपी शर्मा ओली झनै धेरै मत ल्याएर चुनाव जित्ने बताउनुभएको छ।
अध्यक्ष गिरीले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह आगामी प्रतिनिधिसभा निर्वाचनमा झापा-५ बाट उम्मेदवार बन्ने चर्चाका बीच यस्तो धारणा व्यक्त गर्नुभएको हो।
पार्टी अध्यक्ष ओलीको नाम झापा-५ बाट एकल सिफारिस भएको जानकारी दिंदै अध्यक्ष गिरीले बालेन आए एमालेले मतान्तर थप बढाउने जानकारी दिनुभयो।
सञ्चारकर्मीसँग कुरा गर्दै झापा-५ मा बालेन आउनुले एमालेलाई केही पनि फरक नपर्ने गिरीको भनाई छ। पपुलिष्टकै आधारमा भूगोलमा आएर निर्वाचन जित्न सजिलो छैन, हामीले जनताको काम गरेका छौं, उहाँले भन्नुभयो– ‘बालेन झापाबाट उम्मेदवार बन्नेमा विश्वास छैन, आइहाले फरक पनि पर्ने छैन।’
अध्यक्ष गिरीले कुलमान घिसिङ र बालेनलाई रास्वपासँग अदृष्य शक्तिले जवरजस्त मिलाएको दाबी गर्नुभयो। कुलमान जी बाहिरिनु भइसक्यो, बालेनजीलाई पनि रास्वपाले मनदेखि स्वीकार्न सक्दैन, उहाँ भन्नुहुन्छ– ‘रास्वपाले बालेनको राजनीति झापाबाटै सिध्याउने रणनीति बनायो । क्षेत्रमा पनि रास्वपाका कार्यकर्ताले बालेनलाई स्वीकार गर्न सक्दैनन् ।’
बालेनलाई अदृष्य शक्तिहरुले नै प्रधानमन्त्री घोषणा गरेको बताउँदै गिरीले उक्त घोषणा रास्वपालाई मन नपरेको प्रतिक्रिया दिनुभयो। रास्वपा निर्माण गर्न रवि लामिछाने र अन्य नेता कार्यकर्ताले दुख गरे, प्रधानमन्त्री अर्को मान्छे बनाउने भन्दा मान्ने अवस्था छैन, उहाँले थप्नुभयो । परिस्थितिजन्य बाध्यताका कारण रास्वपाले बालेनलाई प्रधानमन्त्रीको रुपमा अघि सारेको गिरीको भनाई छ।
पूर्व प्रधानमन्त्री ओलीलाई अप्ठ्यारो बनाउन सकिन्छ कि भनेर बालेन फण्डा गरिएको हुन सक्ने उहाँको भनाई छ। एमाले आफ्नो संगठनको बलमा निर्वाचन लड्ने बताउँदै उनले झापा क्षेत्र नं. ५ मा अध्यक्ष ओलीले अत्याधिक मतका साथ विजयी हुने बताउनुभयो ।
विकास निर्माणको कामप्रति क्षेत्रका जनता सन्तुष्ट रहेको र बालेन टुरिस्ट उम्मेदवार हुँदा ओलीलाई निर्वाचन जित्न धेरै सजिलो हुने नेता गिरीको भनाई छ । सडक, पुलसहित पूर्वाधार विकासमा कायापलट गरेका कारण जनताको एमालेलाई हुनेमा विश्वास व्यक्त गर्नुभयो ।
अघिल्लो निर्वाचनमा अध्यक्ष ओली २८ हजार ५७६ मतान्तरले निर्वाचित भएका थिए । गठबन्धनको तर्फबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीलाई पराजित गर्दै दोब्बरभन्दा बढी मतान्तर निर्वाचित बनेका थिए ।
एक लाख २ हजार १५० खसेको मतमध्ये ९८ हजार ६३१ मत सदर भएकोमा ओलीले ५२ हजार ३१९ मत प्राप्त गरेका थिए । अधिकारीले २३ हजार ७४३ मत प्राप्त गरेका थिए भने राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार पोखरेलले ११ हजार ७४८ मत प्राप्त गरेका थिए ।


