झापा । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको २०औँ स्थापना दिवस झापामा विविध सामाजिक तथा शैक्षिक कार्यक्रमका साथ मनाइएको छ ।
सोमबार गोलोक गोवर्धन गौशालाको सभाहलमा आयोजित कार्यक्रममा संस्कृत शिक्षा र पठन संस्कृतिको प्रवर्धनलाई केन्द्रमा राख्दै उल्लेखनीय योगदान गरिएको महासंघ झापाले जनाएको छ ।
गोलोक गोवर्धन गौशालाका ३८ जना कर्मचारी तथा श्री सताक्षी गुरुकुलका ४५ जना विद्यार्थीलाई संस्कृतका पुस्तक, स्टेशनरी सामग्री र खेलकुदका सामग्री वितरण गरेर स्थापना दिवस मनाइएको अध्यक्ष विनोद सापकोटाले जानकारी दिनुभएको हो ।
यस्तो सहयोगले संस्कृत शिक्षा र अनुशासनयुक्त जीवनशैली प्रवर्धनमा टेवा पुग्ने आयोजकको विश्वास छ । महासंघ झापाले यसअघि पनि सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू गर्दै आएको उहाँले बताउनु भयो ।
निरन्तर सामाजिक सेवामा सक्रिय रहँदै आएको झापा शाखाको यो पहललाई महासंघको केन्द्रीय समितिले मूल्याङ्कन गर्दै आएको बताइएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष तथा केन्द्रका पदेन उपाध्यक्ष जीवन नेपालले झापा जिल्लाले पठन संस्कृतिको विकासका लागि रचनात्मक र प्रभावकारी काम गर्दै महासंघको गरिमा उच्च बनाएको भनी प्रशंसा गर्नुभयो । उहाँले केन्द्र र प्रदेशस्तरबाट निरन्तर सम्मान पाउनु झापाको सक्रियता र प्रतिबद्धताको प्रमाण भएको बताउनु भयो ।
केन्द्रीय सहकोषाध्यक्ष रविन बरालले पुस्तक व्यवसायी केवल व्यापारमै सीमित नभई समाज प्रति उत्तरदायी बन्दै गएको बताउँदै ज्ञान, शिक्षा र संस्कृतिको प्रवर्धनमार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउने अभियानमा महासंघ प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।
सो कार्यक्रममा गोलोक गोवर्धन गौशालाका संरक्षक तथा अध्यक्ष नन्दकिशोर भारद्वाजले संस्कृत विधाका विद्यार्थीलाई जीवनोपयोगी पुस्तक प्रदान गर्नु पुस्तक व्यवसायीको अत्यन्त प्रशंसनीय कार्य भएको बताउनु भयो । उहाँले हिन्दू सनातन धर्मको संरक्षण र प्रवर्धनमा पुस्तक व्यवसायीहरूको भूमिका अतुलनीय रहेको पनि प्रष्ट पार्नुभयो ।
कार्यक्रम महासंघ झापाका अध्यक्ष विनोद सापकोटाको अध्यक्षता तथा सचिव चन्द्रमणि घिमिरेको सहजीकरणमा सम्पन्न भएको थियो ।


