
झापा । अस्ट्रेलियाले बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध लगाएको पहिलो दिनमा फेसबुकको मातृ संस्था मेटाले झन्डै ५ लाख ५० वटा खाता बन्द गरेको छ ।
कम्पनीले नयाँ कानूनको पालनाको पहिलो दिन डिसेम्बर १० मा इन्स्टाग्राममा ३ लाख ३० हजार ६३९, फेसबुकमा १ लाख ७३ हजार ४९७ र थ्रेड्समा ३९ हजार ९१६ वटा खाता बन्द गरेको छ ।
अस्ट्रेलियाले १६ वर्षमुनिका बालबालिकालाई इन्स्टाग्राम, फेसबुकसहितका सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउन डिसेम्बरमा कानून ल्याएको थियो । विश्वभर नजिकबाट हेरिएको यो प्रतिबन्धलाई अभियानकर्ताहरू र सरकारले हानिकारक सामग्री र एल्गोरिदमबाट बालबालिकाहरूलाई जोगाउन आवश्यक भएको भन्दै जायज ठहराएको छ ।
मेटालगायतका कम्पनीहरूले युवाहरूलाई अनलाइनमा सुरक्षित राख्न थप उपायहरू आवश्यक पर्ने कुरामा सहमत भएको बताएका छन् । मेटाले अस्ट्रेलियाली सरकारलाई उद्योगसँग रचनात्मक रूपमा संलग्न हुन आह्वान गरेको छ । सामाजिक सञ्जाल कम्पनीहरूले उमेर प्रमाणीकरण एप स्टोर स्तरमा हुनुपर्ने तर्क गरेका बीबीसीले जनाएको छ ।
अमेरिकी राज्य फ्लोरिडादेखि युरोपेली सङ्घसम्मका विभिन्न सरकारहरूले बालबालिकाको सामाजिक सञ्जाल प्रयोगलाई सीमित गर्ने प्रयोग गरिरहेका छन् । तर १६ वर्षको उच्च उमेर सीमासँगै अस्ट्रेलिया यस्तो नीतिमा अभिभावकको स्वीकृतिका लागि छुट अस्वीकार गर्ने पहिलो देश हो ।


