
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी हुने सूचनामा कुनै सत्यता नरहेको उनको सचिवालयले स्पष्ट पारेको छ ।
सभापति देउवा भृकुटीमण्डपमा आज जाने सूचनाबारे केही व्यक्तिहरूले सामाजिक सञ्जालमा भ्रम फेलाएको देउवाका स्वकीय सचिव भानु देउवाले बताउनु भएको छ।
‘सामाजिक सञ्जालमा केही व्यक्तूरुले भ्रम फैलाउने उद्देश्यले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाज्यू आज भृकुटीमण्डप जाने भन्ने गलत सूचना प्रवाह गरेकोमा सचिवालयको गम्भीर ध्यानकर्षण भएको छ । उक्त कार्यक्रममा पार्टी सभापति जाने कुनै पनि कार्यक्रम नरहेको स्पष्ट गर्न चाहन्छौं,’ देउवाको सचिवालयले भनेको छ ।
विशेष महाधिवेशन पक्षधरले आइतबारदेखि भृकुटीमण्डपमा विशेष महाधिवेशन आयोजना गरेको छ । जस अन्तर्गत आज बिहान १० बजेदेखि बन्द सत्र कार्यक्रम सुरु गर्ने कार्यतालिका छ । बन्द सत्रका लागि तयारी भइरहेको छ ।
विशेष महाधिवेशनलाई सम्बोधन गर्ने अधिकांश नेताहरूले सभापति देउवालाई बन्द सत्रमा सहभागी हुन आग्रह गरेका थिए । बन्द सत्रमा सहभागी भएर विशेष महाधिवेशनलाई सफल पार्न उनीहरूले आग्रह गरेका थिए ।


