२०८२ पौष २८ सोमवार , ०२:१३:५३ बजे

Sajhamanch
'

त्रिशूलीमा बसको अवशेष भेटियो, सीमलतालमा हराएको बस हुनसक्ने आशङ्का

आइतवार, पौष २७, २०८२

चितवन । तनहुँको आँबुखैरहनी गाउँपालिका वडा नम्बर ५ द्वोन्द्राङ बेँसीमा रहेको त्रिशूली किनारमा बसको अवशेष भेटिएको छ ।

अवशेष भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमलतालमा गएको वर्ष बेपत्ता भएका दुई बसमध्ये एउटाको हुनसक्ने आशङ्का गरिएको छ । बस बेपत्ता भएको ठाउँबाट झन्डै दुई सय मिटर नजिक तनहुँतर्फ बसको अवशेष फेला परेको हो ।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख एवम् प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार माछा मार्ने क्रममा जाल अड्किएपछि स्थानीयवासीले खोतलेर हेर्दा बसजस्तो देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

बालुवामा पुरिएको अवस्थामा बस देखिएपछि खन्ने काम भइरहेको छ । उहाँका अनुसार निलो रङको देखिएको र सिमलतालमा हराएको गणपति बसको रङसँग मिलेकाले त्यही बस हुनसक्ने सम्भावना रहेको छ । यद्यपि बस निकालेपछि मात्रै यकिन हुने उहाँले जानकारी दिनुभयो ।

२०८१ साल असार २८ गते नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालबाट पहिरोसहित दुई वटा बस त्रिशूलीमा बेपत्ता भएका थिए । बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति र बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स त्रिशूलीमा बेपत्ता भएका थिए ।

दुई वटा बसमा सवार ६५ मध्ये ११ जनाको शव फेला परेको थियो भने तीन जना घाइते भएका थिए । घटनामा ५१ जना बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले बताउनुभयो ।