
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज पनि एक वर्षका लागि १० अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गरेको छ । बैंकिङ प्रणालीमा तरलता प्रवाह अत्यधिक भएपछि केन्द्रीय बैंकले लगातार ऋणपत्र निष्कासन गरिरहेको हो ।
राष्ट्र बैंकले पछिल्ला १० दिनमै ६ वटा ऋणपत्र जारी गर्दै बैंकिङ प्रणालीबाट १ खर्ब ३० अर्ब रुपैयाँ तानेको छ । यसअघि राष्ट्र बैंकले पुस १४ गते, पुस १६ गते, पुस २० गते र पुस २२ गते २५ अर्ब दरका तथा पुस २३ गते २० अर्बको ऋणपत्र निष्कासन गरेको थियो ।
बैंक तथा वित्तीय संस्थाहरूमा साढे दुई वर्षअघिदेखि ऋण दिन मिल्ने रकम अर्थात् अधिक तरलता बढिरहेको छ । अहिले बैंक तथा वित्तीय संस्थामा त्यस्तो रकम ११ खर्ब २२ अर्ब नाघिसकेको छ ।
चालू आर्थिक वर्षको शुरुआती पाँच महिनामा बैंक तथा वित्तीय संस्थाहरूले २ खर्ब ३९ अर्ब निक्षेप सङ्कलन गरेर ७५ अर्ब रुपैयाँमात्रै कर्जा प्रवाह गरेका छन् । सामान्य अवस्थामा ब्याजदर उच्च भएको बेलामा निक्षेप सङ्कलनभन्दा कर्जा प्रवाह कम हुने गर्छ । तर अहिले ब्यादर लगातार घटेर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढ्न सकेको छैन ।
निजी क्षेत्रले लगानीका लागि विश्वसनीय वातावरण उपलब्ध भएको महसुस गर्न नसक्दा बैंकमा पैसा थुप्रिएर अर्थतन्त्र शिथिल बन्दै गएको हो । अहिले लगानी, उत्पादन, पूँजी निर्माण, रोजगारी, वस्तु तथा सेवाको मागजस्ता सबै पक्ष शिथिल बन्दै गएको व्यवसायीहरू बताउँछन् ।


