
झापा । जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडबाट चोरिएको मोटरसाइकलसहित एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बिर्तामोड-१ सिर्जना टोलमा रमेश मगरको घरमा डेरा गरी बस्ने इलाम फाकफोकथुम गाउँपालिका वडा नं.७ घर भएका ३९ वर्षीय वीरबहादुर दमाई रहेका छन् ।
उनले आफ्नो डेरामा भदौ २४ गते जेनजी आन्दोलनको क्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडको परिसरबाट हराएको मोटरसाइकल लुकाएर राखेका थिए ।
हिजो बिहान इलाका प्रहरी कार्यालय बिर्तामोड र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त टोलीले चेकजाँच गर्दा दमाईले लुकाइछिपाई राखेको अवस्थामा मे.७प. (नम्बर नखुलेको) सुपर स्प्लेन्डर मोटरसाइकल फेला परेको थियो । सो मोटरसाइकल सर्वसाधारणको भएको बताइएको छ । जुन पक्राउ गरी ट्राफिक प्रहरी कार्यालयमा राखिएको थियो ।
जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीहरूले ट्राफिक प्रहरी कार्यालयमा आगजनी र तोडफोड गरेका थिए । त्यसक्रममा ट्राफिक भवनमा आगजनी गर्नुका साथै सवारीसाधनमा समेत आगो लगाएका थिए ।
आगजनीबाट दुई वटा गाडी क्षतिग्रस्त भएका थिए । त्यस्तै सेतो नम्बर प्लेट भएका कार्यालयको ४ वटा , त्यहाँका कर्मचारीहरूको ८ वटा र सर्वसाधारणको मोटरसाइकलसमेत हराएको थियो ।
आगजनीबाट ध्वस्त भएको अवस्थामा तीन वटा सेतो प्लेटका मोटरसाइकल फेला परेका थिए भने ४ वटा निजी मोटरसाइकलमध्ये केही डढेको भेटिएको थियो । बाँकी मोटरसाइकल आन्दोलनकारीहरूले लिएर गएका थिए ।
ट्राफिक कार्यालयबाट हराएकामध्ये योसहित तीन वटा मोटरसाइकल फेला परेको छ भने ६ वटा मोटरसाइकल अझै गायब नै रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।


