२०८२ पौष १८ शुक्रवार , ०७:४८:१५ बजे

Sajhamanch
'

टेस्लालाई उछिन्दै बीवाईडी विद्युतीय गाडीको सबैभन्दा ठूलो बिक्रेता बन्दै

शुक्रवार, पौष १८, २०८२

झापा । चिनियाँ कम्पनी बीवाईडीले अमेरिकी अर्बपति एलोन मस्कको स्वामित्वमा रहेको टेस्लालाई उछिन्दै विद्युतीय गाडी (ईभी) को सबैभन्दा ठूलो बिक्रेता बन्न लागेको छ ।

बीवाईडीले भर्खरै सकिएको सन् २०२५ मा २२ लाख ५० हजार वटा कार बिक्री भएको जनाएको छ । कम्पनीका अनुसार यो सङ्ख्या अघिल्लो वर्षको भन्दा २८ प्रतिशतले बढेको हो ।

यसैबीच टेस्लाले गएको वर्ष आफूले बिक्री गरेका गाडीको सङ्ख्या आज सार्वजनिक गर्न लागेको बीबीसीले जनाएको छ । यद्दपि गएको हप्ता विश्लेषकहरूले गरेको अनुमान अनुसार टेस्लाले गएको वर्ष झन्डै १६ लाख ६५ हजार वटा गाडी बिक्री गरेको थियो ।

विभिन्न कम्पनीले बजारमा कम मूल्यमा कार बिक्री गरेका कारण र एलोन मस्कको राजनीतिक गतिविधिबाट उत्पन्न असहज परिस्थितिका कारण टेस्ला गएको वर्ष अप्ठेरोमा परेको थियो ।

मस्क ट्रम्प प्रशासनमा संलग्न भएपछि सन् २०२५ मा शुरूका तीन महिनामा टेस्लाको बिक्री घटेको थियो । राजनीति र अन्य व्यापारमा संलग्न भएकाले मस्कले टेस्लामा पर्याप्त ध्यान दिन नसकेको केही लगानीकर्ताहरूले औँल्याएका थिए । त्यसपछि मस्कले अमेरिकाको प्रशासनमा आफ्नो भूमिका घटाउने वाचा गर्नुभएको थियो ।

केही वर्षदेखि बीवाईडीले तीव्र गतिमा बजार विस्तार गर्दै आएको छ । यद्यपि पाँच वर्षको अवधिमा सन् २०२५ मा कम्पनीको बिक्री सबैभन्दा कम दरमा भएको खबरमा उल्लेख छ । तर बीवाईडी विश्वभरि विद्युतीय गाडीको बजारमा शक्तिशाली कम्पनीका रूपमा कायम छ ।

सम्बन्धित खबर