
काठमाडौं । सुनसरीमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर मृत्यु भएको घटनाको छानबिनका लागि प्रहरीले सशस्त्र प्रहरी बलका वरिष्ठ हवल्दारसँग सोधपुछ गरिरहेको छ ।
सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार नवराज खतिवडालाई बिहीबार नै बोलाएर प्रहरीले सोधपुछ गरिरहेको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी केशवकुमार थेवका अनुसार हवल्दार खतिवडा बिहीबारदेखि नै जिल्ला प्रहरी कार्यालयमा छन् । उनीसँग सोधपुछ चलिरहेको छ ।
‘बिहीबारदेखि नै उहाँ हाम्रै कार्यालयमा हुनुहुन्छ । सोधपुछको काम भइरहेको छ,’ एसपी थेबेले भन्नुभयो ।
बुधबार मध्यराति प्रहरीले चलाएको गोली लागेर सुनसरीको कोशी गाउँपालिका–१ का ४५ वर्षीय विजय साहको मृत्यु भएको थियो । लौकही नाकाबाट तीन वटा अटो रिक्सामा चिनी लिएर आएको समूहलाई सशस्त्रले गोली हानेको थियो ।
सोही क्रममा साहको मृत्यु भएको हो । सशस्त्र प्रहरीले भने तस्करको समूहले पहिला गोली हानेको र जवाफी कारबाही गर्दा दुर्घटना भएको दाबी गर्दै आएको छ । घटनाको छानबिन गर्न समिति गठन गरिएको छ ।


