
काठमाडौं । देशमा पछिल्लो समय देखिएको राजनीतिक परिवर्तन र अस्थिरताको बाबजुद पनि विदेशी पर्यटकको आगमन उल्लेख्य रूपमा बढेको छ ।
नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २०२५ मा ११ लाख ५८ हजारभन्दा धेरै विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो संख्या सन् २०२४ को तुलनामा झन्डै ११ हजारले बढी हो । सन् २०२४ मा जब ११ लाख ४७ हजार ५४८ पर्यटक नेपाल आएका थिए ।
गएको भदौ २३/२४ को नवयुवा आन्दोलनपछि पनि पर्यटक आगमनमा कमी नआएको बोर्डको तथ्याङ्कले देखाएको छ । कात्तिक १५ देखि मंसिर १६ गतेसम्मको अवधिमा ९८ हजार १९० पर्यटक नेपाल आएका छन्, जुन सन् २०२४ को त्यही अवधिको तुलनामा बढी हो ।
पछिल्ला केही वर्षयता नेपाल भित्रिने पर्यटकको संख्या बढ्दै आएको छ । सन् २०२३ मा १० लाख १४ हजार ८८२ पर्यटक नेपाल आएकोमा सन् २०२४ मा यो संख्या एक लाख ४० हजारभन्दा धेरैले बढेको थियो ।
सन् २०२५ मा पनि यो वृद्धि कायम रहेको देखिन्छ । पर्यटक आगमनमा भारतीय पर्यटक अग्रस्थानमा रहेका छन् । सन् २०२५ मा दुई लाख ९२ हजार भारतीय पर्यटक नेपाल आएका छन् ।
भारतपछि अमेरिका, चीन र बंगलादेशका पर्यटक धेरै नेपाल आउने गरेका छन् । साथै थाइल्यान्ड, जापान, दक्षिण कोरिया र मलेसियालगायत एशियाली देशबाट पनि उल्लेख्य संख्यामा पर्यटक आएका छन् ।
युरोपेली देशबाट आउने पर्यटकको संख्या सन् २०२४ को तुलनामा ७ हजारले बढेर सन् २०२५ मा दुई लाख २१ हजार पुगेको छ । यसका साथै मध्यपूर्वी देशका पर्यटकहरू पनि नेपालतर्फ आकर्षित हुन थालेका छन् ।
विशेषगरी पदयात्रा र हिमाल आरोहणमा विदेशी पर्यटकको चासो बढ्दै गएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।


