२०८२ पौष १७ बिहिवार , ०७:५५:२२ बजे

Sajhamanch
'

विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली आजदेखि लागू

बिहिवार, पौष १७, २०८२

काठमाडौं । अध्यागमन विभागको विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली आजदेखि कार्यान्वयनमा आएको छ । विभागले गृहमन्त्री ओमप्रकाश अर्याल लगायतको उपस्थितिमा एक कार्यक्रम गरि प्रणाली कार्यान्वयनमा ल्याएको हो ।

कार्यक्रममा विभागका महानिर्देशक रामचन्द्र तिवारीले विभिन्न भिसामा नेपाल भित्रिएका विदेशी नागरिकलाई अध्यागमन कानून विपरीतका गतिविधिमा संलग्न हुन नदिन निगरानी, नियमन र व्यवस्थापन तथा यात्रा सहजीकरण गर्न यो प्रणाली लागू गरिएको जानकारी गराउनुभयो ।

यसले नेपाल भ्रमण गर्ने विदेशी नागरिकको सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विभागको दाबी छ ।

यसबाट नेपाल भित्रिएका विदेशी नागरिक बसेको, उनीहरू कुन ठाउँमा रहेको, भिसा कानून अनुसार भए/नभएको लगायत जानकारी प्रणाालीमा आबद्ध संस्थाले विभागलाई प्रणाालीबाटै दिनुपर्ने छ । यस प्रणालीबाट पर्यटक नफर्केसम्म आवश्यक परेको बेला उनीहरू कहाँ छन् भन्ने जानकारी लिन सकिनेछ ।

विभागका अनुसार पहिलो चरणमा काठमाण्डौ उपत्यकाका तारे होटल, ट्राभल एजेन्सी, मनी एक्स्चेन्ज लगायतमा यो प्रणाली लागू भएको छ । दोस्रो चरणमा उपत्यकाबाहिरका होटल, ट्राभल एजेन्सी लगायतमा लागू गर्ने तयारी रहेको विभागले जनाएको छ ।

सम्बन्धित खबर