२०८२ पौष १६ बुधवार , ०८:३५:२३ बजे

Sajhamanch
'

इरानमा महँगीविरुद्धको प्रदर्शन देशभर फैलँदै, सर्वोच्च नेताविरुद्ध चर्का नाराबाजी

बुधवार, पौष १६, २०८२

झापा । इरानमा महँगीको विरुद्धमा शुरू भएको प्रदर्शन राजधानी तेहरान हुँदै अरू शहरहरूमा पनि फैलिएको छ ।

रिआलको मूल्य अमेरिकी डलरको तुलनामा न्यूनतम विन्दुमा झरेपछि व्यापारीहरूले गएको आइतवार तेहरानमा रहेको ग्र्यान्ड बजार बन्द गरेका थिए । त्यसपछि शुरू भएको प्रदर्शन फैलँदै गएको बीबीसीले जनाएको छ ।

इरानका आठभन्दा धेरै मुख्य शहरमा भएका प्रदर्शनलाई रोक्न प्रहरीले अश्रुग्यास प्रयोग गरेको छ । इरानी मुद्रा कमजोर भएपछि गभर्नर मोहम्मद्रेजा फार्जिनले दिनुभएको राजीनामा स्वीकृत गर्दै राष्ट्रपतिले पूर्वअर्थमन्त्री अब्दोल्नासेर हेम्मातीलाई गभर्नरमा नियुक्त गर्नुभएको छ ।

राष्ट्रपति मसूद पेजेश्कियानले सामाजिक सञ्जाल एक्समा लेख्दै प्रदर्शनकारीहरूका प्रतिनिधिसँग वार्ता गर्न आफूले निर्देशन दिएको बताउनुभएको छ । प्रदर्शनकारीहरूले विशेषगरी देशका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईलाई तानाशाह भन्दै नाराबाजी गरेका छन् ।

अमेरिकाको विदेश मन्त्रालयले एक्समा इरानमा चलिरहेको विरोध प्रदर्शनप्रति आफ्नो समर्थन रहेको जनाएको छ । इरानले ब्यालेस्टिक क्षेप्यास्त्र निर्माण र परमाणुअस्त्र कार्यक्रम फेरि शुरू गर्ने तयारी भएका बेला भएको प्रदर्शन र अमेरिकाको समर्थनलाई लिएर अन्तर्राष्ट्रिय चासो बढेको छ ।

गएको जुन महिनामा इजरायल र इरानबीच १२ दिन लडाइँ भएको थियो भने अमेरिकाले इरानमा रहेको यूरेनिअम संवर्धनस्थलहरूमा हवाई आक्रमण गरेको थियो ।

सम्बन्धित खबर