२०८२ पौष १५ मङ्गलवार , ०४:५७:१९ बजे

Sajhamanch
'

सन् २०२६ मा राष्ट्रसङ्घको मानवीय सहायताका लागि अमेरिकाले दुई अर्ब डलर दिने

मङ्गलवार, पौष १५, २०८२

झापा । अमेरिकाले सन् २०२६ मा संयुक्त राष्ट्रसङ्घको मानवीय सहायताका लागि दुई अर्ब डलर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

अमेरिकी विदेश मन्त्रालयले सन् २०२६ का लागि राष्ट्रसङ्घको मानवीय सहायताका लागि उपलब्ध गराउने सहयोगसम्बन्धी पुष्टि गरेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

अमेरिका विश्वको शीर्ष मानवीय सहायता दाता देश हो । राष्ट्रसङ्घको तथ्याङ्क अनुसार सन् २०२२ मा १४ अर्ब डलर रहेको सहायता रकम सन् २०२३ र सन् २०२४ मा झन्डै ११ अर्ब डलर थियो भने यो रकम सन् २०२५ मा आइपुग्दा २.७ अर्ब डलरमा झरेको थियो ।

राष्ट्रसङ्घ सहायता प्रमुख टम फ्लेचरले यस महिनाको शुरुमा राष्ट्रसङघको वार्षिक ‘ग्लोबल ह्युमेनिटेरियन अपिल २०२६’ को शुरुआत गर्नुभएको थियो । उहाँले गाजा, युक्रेन, सुडान, हाइटी र म्यान्मारजस्ता देशहरुमा मुख्य ध्यान केन्द्रित गरीएको र विश्वका ८७ लाख खाँचोमा परेका मानिसलाई सहायता प्रदान गर्न २३ अर्ब डलर अनुरोध गर्नुभएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वैदेशिक सहायता खर्च घटाएपछि राष्ट्रसङ्घले नयाँ वास्तविकतालाई अनुकूलन गर्ने प्रयास गरिरहेको छ ।