
झापा । चीनले ताइवान वरिपरि सैन्य अभ्यास शुरू गरेको छ । ‘पृथकतावादी’ र ‘बाह्य हस्तक्षेप शक्तिहरू’ विरुद्ध कडा चेतावनीका रूपमा चीनले ताइवानका प्रमुख क्षेत्रहरू कब्जा र नाकाबन्दीको नक्कल गर्दै टापु वरिपरि सैन्य अभ्यास गरिरहेको बीबीसीले जनाएको छ ।
चिनियाँ सेनाका अनुसार यी अभ्यासहरूका लागि सेना, नौसेना, वायुसेना र रकेट फोर्स तैनाथ गरिएको छ जसमा प्रत्यक्ष अग्नि अभ्यास पनि समावेश छ । यी सैन्य अभ्यासहरूलाई ‘न्याय मिसन २०२५’ नाम दिइएको खबरमा उल्लेख छ ।
अमेरिकाले ताइवानलाई ११ अर्ब डलर बराबरको हतियार प्याकेज बेच्ने घोषणा गरेको केही दिनपछि नै यी अभ्यासहरू भइरहेका छन् । चीनले अमेरिकाको यो निर्णयको कडा विरोध गर्दै अमेरिकी रक्षा कम्पनीहरूमाथि प्रतिबन्ध लगाएको थियो ।
यस वर्ष ताइवानले आफ्नो रक्षा तयारीलाई अझ बलियो बनाउने प्रयास गरेकोमा चीन आक्रोशित बनेको छ । चीनले ताइवानलाई आफ्नो हिस्सा मान्छ भने ताइवानले आफूलाई एक स्वतन्त्र देश मान्दछ ।
यसैबीच ताइवानको रक्षा मन्त्रालयले टापु वरिपरि चिनियाँ विमान र जहाजहरू पत्ता लगाएको र परिस्थितिको निगरानी गर्न आफ्नै सेना र क्षेप्यास्त्र प्रणालीहरू तैनाथ गरेको बताएको छ । ताइवानको सेना देशको रक्षा गर्न र नागरिकको सुरक्षा गर्न उच्च सतर्कतमा रहेको मन्त्रालयको भनाइ छ ।


