२०८२ पौष १३ आइतवार , ०७:५४:०७ बजे

Sajhamanch
'

हमासका लागि करोडौं रकम उठाएको आरोपमा इटालीमा नौ जना पक्राउ

आइतवार, पौष १३, २०८२

झापा । दुई वर्षभन्दा धेरै समयदेखि प्यालेस्टिनी विद्रोही समूह हमासका लागि ७० लाख युरो अर्थात् १ अर्ब १८ करोड रुपैयाँभन्दा धेरै रकम जुटाएको आरोपमा इटालियन प्रहरीले नौ जनालाई पक्राउ गरेको छ ।

उनीहरूले परोपकारी संस्थाहरूमार्फत यो पैसा प्यालेस्टिनी नागरिकका लागि मानवीय सहायताका रूपमा सङ्कलन गरेका तर यसको सट्टा विद्रोही समूहलाई पठाएका प्रहरीको विज्ञप्तिलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

यस्तै प्रहरीले अनुसन्धानका क्रममा ८० लाख युरो भन्दा धेरै सम्पत्ति जफत गरेको बताएको छ । प्रहरीले पक्राउ परेकाहरूमाथि विशेषगरि आतङ्कवादी गतिविधिहरूमा योगदान पुर्‍याएको विश्वास गरिएको वित्तपोषण सञ्चालन गरेको आरोप लगाएको छ ।

प्रहरीको विज्ञप्ति अनुसार उनीहरूले गाजाको नागरिक जनसङ्ख्याका लागि चन्दाका नाममा रकम सङ्कलन गरेका थिए । यद्दपि उनीहरूले कोषमा जम्मा भएको रकमको ७१ प्रतिशतभन्दा धेरै हमासको सैन्य शाखालाई आर्थिक सहयोग गर्न र आत्मघाती वमवर्षकहरू वा आतङ्कवादको आरोपमा हिरासतमा लिइएकाहरूको परिवारलाई सहयोग गर्नका लागि पठाएका खबरमा उल्लेख छ ।

सन् २०२३ को अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासको आक्रमणपछि प्रहरीले अनुसन्धान शुरू गरेको थियो ।

इटालीका गृहमन्त्री माटेओ पियान्टेडोसीले पक्राउ परेकामध्ये सबैभन्दा चर्चित व्यक्ति इटालीमा रहेको प्यालेस्टिनी सङ्घका अध्यक्ष मोहम्मद हन्नौन भएको बताउनुभएको छ ।

सम्बन्धित खबर