२०८२ पौष १० बिहिवार , ०८:०४:२१ बजे

Sajhamanch
'

बङ्गलादेशका विपक्षी नेता तारिक रहमान १७ वर्षको निर्वासनपछि स्वदेश फिर्ता

बिहिवार, पौष १०, २०८२

झापा । बङ्गलादेशको लामो समयदेखि सत्तारूढ परिवारका उत्तराधिकारी तथा देशको शक्तिशाली विपक्षी दलका नेता तारिक रहमान झन्डै १७ वर्षको निर्वासनपछि देश फर्किनुभएको छ ।

राजनीतिक रूपमा प्रेरित उत्पीडनको आरोपमा सन् २००८ मा बङ्गलादेशबाट भागेपछि बेलायतमा बस्दै आउनुभएका ६० वर्षीय रहमान हिजो ढाका आउनुभएको समाचार संस्था अलजजीराले जनाएको छ ।

आउँदो फेब्रुअरीका लागि तय भएको चुनावमा प्रधानमन्त्रीको शीर्ष उम्मेदवारका रूपमा उहाँको चर्चा भइरहेको छ ।

बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यवाहक अध्यक्ष रहनुभएका रहमानले पूर्वप्रधानमन्त्रीसमेत रहनुभएकी आमा ८० वर्षीया खालिदा जियाबाट पार्टी नेतृत्व लिने अपेक्षा रहेको खबरमा उल्लेख छ ।

लामो समयदेखि सत्तामा रहनुभएकी शेख हसिना सन् २०२४ मा पदच्युत भएपछि बीएनपीले पुनः गति लिइरहेको बेला विपक्षी नेता रहमान स्वदेश फिर्ता हुनुभएको हो ।

रहमानलाई ‘मनी लाउन्डरिङ’ अर्थात् सम्पत्ति शुद्धीकरण र हसिनाको हत्या गर्ने कथित षड्यन्त्रसँग सम्बन्धित आरोपमा उहाँको अनुपस्थितिमा दोषी ठहराइएको थियो, तर गएको वर्ष विद्यार्थी नेतृत्वको विद्रोहमा हसिना पदच्युत भएपछि फैसला उल्टियो र उहाँको फर्कने कानूनी अवरोधहरू हटेको थियो ।

रहमान घर फर्कनुमा उहाँको व्यक्तिगत कारण पनि छ, किनकि उहाँकी आमा खालिदा जिया महिनौंदेखि गम्भीर बिरामी हुनुहुन्छ । हसिना सत्ताबाट हटेपछि राजनीतिक परिदृश्य तीव्र गतिमा परिवर्तन भएको छ ।

अमेरिकामा आधारित ⁠इन्टरनेशनल रिपब्लिकन इन्स्टिच्युटले गएको डिसेम्बरमा गरेको सर्वेक्षणले बीएनपीले सबैभन्दा धेरै संसदीय सिट जित्ने बाटोमा रहेको र जमात–ए–इस्लामी पार्टी पनि दौडमा रहेको देखाएको छ ।

चुनावबाट प्रतिबन्धित हसिनाको अवामी लिग पार्टीले अशान्ति फैलाउने धम्की दिएको छ ।

अधिकारीहरूले स्वतन्त्र र शान्तिपूर्ण चुनावको प्रतिज्ञा गरे पनि सञ्चारमाध्यमहरूमाथि भएका पछिल्ला आक्रमण र छिटपुट हिंसाले चिन्ता बढाएको छ ।

सम्बन्धित खबर