२०८२ पौष ९ बुधवार , ०६:०२:२३ बजे

Sajhamanch
'

इसरोले अहिलेसम्मकै ठूलो व्यावसायिक उपग्रह सफलतापूर्वक प्रक्षेपण गर्‍यो

बुधवार, पौष ९, २०८२

झापा । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले अहिलेसम्मकै ठूलो व्यावसायिक उपग्रह प्रक्षेपण गरेको छ ।

आन्ध्र प्रदेशको श्रीहरिकोटामा रहेको सतीश धवन अन्तरिक्ष केन्द्रबाट बिहान ८ बजेर ५५ मिनेटमा प्रक्षेपण गरेको एलभीएम ३–एम ६ मिशनले अमेरिकाको ब्लु बर्ड ब्लक–२ उपग्रहलाई सफलतापूर्वक कक्षमा पुर्‍याएको हो ।

साढे ४३ मिटर अग्लो रकेटले ६ हजार १०० किलो तौल भएको उपग्रहलाई १५ मिनेटको उडानपछि झन्डै ५२० किलोमिटरको उचाइमा सफलतापूर्वक स्थापित गरेको छ । यो भारतीय भूमिबाट प्रक्षेपण गरिएको अहिलेसम्मकै सबैभन्दा गह्रुँगो उपग्रह हो ।

अमेरिकी कम्पनी एएसटी स्पेस मोबाइलको यो उपग्रह सामान्य मोबाइल फोनमा सीधै उपग्रहमार्फत सेवा उपलब्ध गराउन डिजाइन गरिएको हो । यसमा झन्डै २ हजार ४०० वर्ग फिट क्षेत्रफल भएको एन्टेना जडान गरिएको छ । यो अहिलेसम्म लो अर्थ अर्बिटमा राखिएको सबैभन्दा ठूलो एन्टेना हो ।

यस उपग्रहले विश्वभर फोर–जी र फाइभ–जी भ्वाइस तथा भिडियो कल, मेसेजिङ र डाटा सेवा प्रदान गर्ने छ ।

मिशनलाई सफल बनाएकोमा बधाई दिँदै प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको अन्तरिक्ष क्षेत्रमा यो ठूलो उपलब्धि भएको बताउनुभएको छ ।

यो श्रीहरिकोटाबाट गरिएको १०४ औं र एलभीएम ३ रकेटको नवौं सफल मिशन हो ।

यसअघि इसरोले चन्द्रयान–२ र चन्द्रयान–३ जस्ता महत्त्वपूर्ण मिशनहरू पनि यही रकेटबाट प्रक्षेपण गरिसकेको छ । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन ९इसरो० ले बितेका केही वर्षमा उल्लेखनीय सफलता हासिल गरेको छ ।

सन् २०२३ मा चन्द्रयान–३ मिशनले चन्द्रमाको दक्षिण ध्रुवमा सफल अवतरण गराउँदै भारतलाई यस्तो उपलब्धि हासिल गर्ने विश्वको पहिलो र चन्द्रमामा सफल अवतरण गर्ने चौथो देश बनाएको थियो । सन् २०२३ मै इसरोले आदित्य–एल १ मिशनमार्फत सूर्यको अध्ययनका लागि पहिलो सौर्य वेधशाला पनि प्रक्षेपण गरेको थियो ।

सन् २०१४ मा मङ्गलयान मिशनमार्फत मङ्गल ग्रहको कक्षामा सफलतापूर्वक पुग्ने विश्वको पहिलो अन्तरिक्ष संस्था बनेको इसरोले लागत प्रभावकारिताको क्षेत्रमा पनि नयाँ मापदण्ड स्थापित गरेको छ ।

इसरोको सबैभन्दा महत्त्वाकाङ्क्षी परियोजना गगनयान अहिले अन्तिम चरणमा छ । यस मानव अन्तरिक्ष यात्रा कार्यक्रम अन्तर्गत तीन अन्तरिक्षयात्रीलाई ४ सय किलोमिटरको कक्षामा ३ दिनका लागि पठाउने योजना छ ।