२०८२ पौष ९ बुधवार , ०४:१९:५१ बजे

Sajhamanch
'

तराईमा बाक्लो हुस्सु र कुहिरो केही दिन लम्बिने : जनजीवन प्रभावित हुन नदिन सावधानी अपनाउन आग्रह

बुधवार, पौष ९, २०८२

काठमाडौं । तराईका सबैजसो ठाउँमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही दिन लम्बिने भएको छ । जल तथा मौसम विज्ञान विभागले बाक्लो हुस्सु र कुहिरो कम्तीमा अझै तीन दिन कायम रहने जनाएको छ ।

यसबाट जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्ने हुँदा आवश्यक सावधानी अपनाउन विभागले सबैमा अनुरोध गरेको छ । मौसमविद् हरिप्रसाद दाहालका अनुसार केही दिनयता विशेषगरी तराईका धेरै ठाउँमा हुस्सु/कुहिरो लाग्दै आएको छ । यस्तो अवस्थामा न्यानो भएर बस्न तथा तातो झोलिलो खानेकुरा खान सल्लाह छ ।

आज देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज तराईमा हुस्सु तथा कुहिरो कायमै रहनेछ । पहाडी तथा हिमाली भागमा मौसम मुख्यतया सफा रहने अनुमान छ ।

काठमाडौं उपत्यकामा हिजो न्यूनतम तापक्रम ४ दशमलव ९ डिग्री सेल्सियस रहेकोमा आज बिहान पौने ६ बजे ५ दशमलव ५ डिग्री सेल्सियस मापन भएको छ ।