२०८२ पौष ८ मङ्गलवार , ०१:०९:४६ बजे

Sajhamanch
'

सोमालियामा खडेरीका कारण ४६ लाख मानिस प्रभावित

मङ्गलवार, पौष ८, २०८२

सोमालियामा खडेरीजन्य विपद्का कारण ४६ लाख मानिस प्रभावित भएका छन् । लामो समयसम्म खडेरी रहँदा धेरै सङ्ख्या प्रभावित भएको संयुक्त राष्ट्रसङ्घ (यूएन) राहतमामिला हेर्ने निकायले बताएको चिनियाँ समाचार संस्था सिन्ह्वाले उल्लेख गरेको छ ।शरणार्थीसम्बन्धी राष्ट्रसङ्घीय नियोग (ओसीएचए)ले दुई मुख्य वर्षा ऋतुमा न्यून वर्षाका कारण खडेरी र यसका कारण निम्तिएको सङ्कटले देशलाई गाँजेको जनाएको छ । सहयोगको लागि कोषको कमीले अवस्थालाई थप जटिल बनाएको छ र यसबाट पहिले नै खराब मानवीय अवस्था रहेको सोमालियामा अझ खराब सङ्कट निम्तिएको छ ।

सोमालियाको राजधानी मोगादिसुमा जारी गरिएको पछिल्लो प्रतिवेदनमा पशुपालन र खेतीयोग्य जीविकोपार्जनको सम्भावित जोखिम र जनजीवन जटिल बन्ने अवस्थालाई रोक्न तत्काल सहयोगको लागि अपिल गरिएको छ । आउँदो चार महिना सङ्कटको अवस्था बढ्ने अधिकारीहरूले चेतावनी दिएका छन् ।

विशेष गरी देशको मध्य, दक्षिणी र उत्तरी क्षेत्रहरूमा खडेरीको प्रभाव गम्भीर छ, तर यो अन्य क्षेत्रहरूमा पनि फैलिरहेको छ । संयुक्त राष्ट्रसङ्घ आपतकालीन राहत संयोजकले संयुक्त राष्ट्रसङ्घ केन्द्रीय आपतकालीन प्रतिक्रिया कोषबाट खडेरीसँग जुध्न प्रारम्भिक कार्यको लागि एक करोड अमेरिकी डलर छुट्याएको छ । यसबाट ६ लाख ३ हजारभन्दा बढी मानिसहरूलाई सहयोग गर्ने लक्ष्य लिइएको छ ।

सम्बन्धित खबर