२०८२ पौष ७ सोमवार , ०८:३१:२९ बजे

Sajhamanch
'

विदेशमा रहेका नेपालीको मताधिकार, अन्तर निर्वाचन क्षेत्र मतदान र ‘नो भोट’ प्रावधानबारे सरकारद्वारा सुझाव माग

सोमवार, पौष ७, २०८२

काठमाडौं । सरकारले चुनावसँग सम्बन्धित तीन वटा विषयमा राजनीतिक दल र सरोकारवाला पक्षसँग सुझाव मागेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानन्त्री सुशीला कार्कीको उपस्थितिमा चलिरहेको सर्वपक्षीय छलफलमा गृह मन्त्रालयका सहसचिव आनन्द काफ्लेले विदेशमा रहेका नेपालीलाई मताधिकार दिने विषय, अन्तर निर्वाचन क्षेत्र मतदानको व्यवस्था र ‘नो भोट’ को प्रावधानबारेमा सुझाव माग्नुभएको हो । उहाँले यी तीन वटा विषयलाई सम्बोधन गर्ने गरी सरकारले चुनावसँग सम्बन्धित चार वटा ऐन संशोधन गर्न लागेको जानकारी गराउनुभयो ।

गृह मन्त्रालयले तयार पारेको विधेयकको मस्यौदामा विदेशमा रहेका नेपालीलाई मताधिकार दिने, विदेशमा रहेका नेपाली नियोगलाई मतदान स्थलका रूपमा प्रयोग गर्न सकिने विषय छ ।

नेपालमै रहेका तर आफ्नो नाम रहेको मतदान केन्द्र वा मतदानस्थल पुग्न नसकेकालाई अर्को निर्वाचन क्षेत्रबाट समेत मतदान गर्न सकिने प्रावधान पनि विधेयकको मस्यौदामा छ । यसका साथै उम्मेदवार रहेका कुनै पनि व्यक्तिलाई मत दिन्न भन्ने विषयसमेत मतपत्रमा राखिनेसम्बन्धी ‘नो भोट’ को प्रावधान लागू गर्ने विषय छ ।