२०८२ पौष ६ आइतवार , ०६:५९:१६ बजे

Sajhamanch
'

सिड्नी गोलीकाण्डपछि प्रहरी र गुप्तचर निकायको समीक्षा गर्ने अस्ट्रेलियाली प्रधानमन्त्रीको घोषणा

आइतवार, पौष ६, २०८२

झापा । गएको हप्ता अस्ट्रेलियाको न्यु साउट वेल्स राज्यको सिड्नीमा बोन्डी बिच (समुद्री तट) मा भएको गोलीकाण्डपछि अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले प्रहरी र राष्ट्रिय गुप्तचर निकायहरूको समीक्षा गर्ने घोषणा गर्नुभएको छ ।

प्रधानमन्त्री अल्बानीजले ‘इस्लामिक स्टेट’ (आईएसआईएस) बाट प्रेरित आतङ्कवादी आक्रमणले देशमा द्रुत गतिमा परिवर्तन भइरहेको सुरक्षा वातावरणलाई प्रकाश पार्ने बताउनुभएको बीबीसीले जनाएको छ । उहाँले देशका सुरक्षा निकायहरू प्रतिक्रिया दिनका लागि उत्तम स्थितिमा हुनुपर्नेमा जोड दिनुभएको छ ।

अस्ट्रेलियामा तीन दशकमा यस्तो घटना पहिलो पटक भएको हो र सरकारले बन्दुक स्वामित्व नियमहरूलाई कडा बनाउने योजना बनाएको बताएको छ ।

यसैबीच यहूदी बिदाको समयमा सिड्नीको समुद्र तटमा दुई बन्दुकधारीले चलाएको गोलीबाट १५ जनाको ज्यान गएपछि अस्ट्रेलियाले आज पीडितहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै राष्ट्रिय शोक समारोह मनाउँदैछ ।

कडा सुरक्षा व्यवस्थाका बीचमा स्थानीय समयानुसार बेलुकी ६ बजेर ४७ मिनेटको समयमा एक मिनेट मौनधारण गरिने खबरमा उल्लेख छ, यही समयमा एक हप्तअघि गोलीबारी शुरू भएको थियो ।

सम्बन्धित खबर