२०८२ पौष ४ शुक्रवार , ०३:४५:४४ बजे

Sajhamanch
'

ताइवानका लागि अमेरिकाको ११ अर्ब १० करोड डलरको हतियार प्याकेज अनुमोदन

बिहिवार, पौष ३, २०८२

झापा । अमेरिकाले ताइवानलाई ११ अर्ब १० करोड डलरको हतियार बिक्री अनुमोदन गरेको छ । चीनको बढ्दो सैन्य दबावमा रहेको ताइवानका लागि यो अहिलेसम्मकै सबैभन्दा ठूलो अमेरिकी हतियार प्याकेज रहेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

ताइवानलाई हतियार बिक्रीको घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको वर्तमान प्रशासन अन्तर्गत दोस्रो हो । चीनले ताइवानविरुद्ध आफ्नो सैन्य र कूटनीतिक दबाव बढाइरहेको बेला अमेरिकाले हतियार बिक्री अनुमोदन गरेको हो ।

प्रस्तावित हतियार बिक्रीमा हाइमार्स रकेट प्रणाली, हाविट्जर, जेभलिन एन्टी–ट्याङ्क मिसाइल, अल्टियस लोइटरिङ म्युनिसन ड्रोन र अन्य उपकरणहरूका पार्टपुर्जाहरूसहित आठ वस्तुहरू समावेश रहेको ताइवानको रक्षा मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयले यो प्याकेजबारे संसद्लाई जानकारी गराउने चरणमा रहेको जनाएको छ । संसद्ले चाहेमा हतियार बिक्रीलाई रोक्न वा परिवर्तन गर्न सक्ने मौका छ, यद्दपि ताइवानमा व्यापक रूपमा क्रस–पार्टी समर्थन छ ।

ताइवानका राष्ट्रपति लाई चिङ–तेले गएको महिना २०२६ देखि २०३३ सम्म चल्ने ४० अर्ब डलरको पूरक रक्षा बजेट घोषणा गर्दै राष्ट्रिय सुरक्षामा सम्झौता गर्ने कुनै ठाउँ नभएको बताउनुभएको थियो ।

यसैबीच चीनको विदेश मन्त्रालयले भने हतियार बिक्री सम्झौताले ताइवान क्षेत्रमा शान्ति र स्थिरतालाई गम्भीर रूपमा कमजोर पार्ने बताउँदै त्यस्ता सम्झौताहरू अन्त्य गर्न माग गरेको छ ।

अमेरिकाले चीनलाई नियन्त्रण गर्न ताइवान प्रयोग गर्नु पूर्णरूपमा असफल हुने निश्चित रहेको मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले बताउनुभएको छ ।

चीनले ताइवानलाई आफ्नो क्षेत्रका रूपमा हेर्दै आएको छ जसलाई ताइवानले अस्वीकार गर्छ ।

सम्बन्धित खबर