
झापा । उत्तरी इटालीको स्टेल्भियो राष्ट्रिय निकुञ्जमा २१ करोड वर्ष पुरानो डायनासोरको हजारौं पाइलाको छाप फेला परेको छ । केही पाइलाको व्यास ४० सेन्टिमिटरसम्म रहेको छ र धेरैमा औँला तथा पञ्जाका स्पष्ट निशानहरू देखिएको बीबीसीले जनाएको छ ।
लामो घाँटी, सानो टाउको र धारिलो पञ्जा भएका यी शाकाहारी डायनासोरहरू प्रोसोरोपोड प्रजातिका थिए । १० मिटरसम्म लामा हुने यी डायनासोरहरू सामान्यतया दुई खुट्टामा हिँड्थे तर केही ठाउँमा अगाडिको खुट्टाको छाप पनि भेटिएको छ ।
मिलानका जीवाश्मविद् क्रिस्टियानो दल सासोले आफ्नो क्षेत्रमा यस्तो खोज भेटिन्छ भनेर कल्पना नगरेको बताउनुभयो । तत्कालीन समयमा प्रशस्त डाइनासोर रहेको यो ठाउँ विशाल वैज्ञानिक खजाना रहेको उहाँको भनाइ छ ।
गएको सेप्टेम्बरमा फोटोग्राफर एलियो डेला फेरेराले स्टेल्भियो राष्ट्रिय निकुञ्जको ठाडो पहाडी पर्खालमा सयौं मिटरसम्म फैलिएका पाइलाका छापहरू भेट्नुभएको हो ।
भूगर्भविद्हरू यो क्षेत्र झन्डै २० करोड वर्षअघिसम्म समतल रहेको र पछि अल्पाइन शृङ्खलाको हिस्सा बनेको अनुमान गर्छन् । अहिले यो क्षेत्र दुर्गम भएकाले अनुसन्धानका लागि ड्रोन र रिमोट सेन्सिङ प्रविधि प्रयोग गरिने इटाली संस्कृति मन्त्रालयले जनाएको छ ।


