२०८२ पौष २ बुधवार , ०३:१७:३८ बजे

Sajhamanch
'

झापामा प्रहरी कार्यालय आगजनी गर्ने ४१ जना पक्राउ, ५३ जना अझै फरार

बुधवार, पौष २, २०८२

झापा । झापामा जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालयमा तोडफोड र आगजनीमा संलग्न ४१ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा एक महिला र ४० जना पुरुष रहेका छन् । जेनजी आन्दोलनमा प्रहरी कार्यालयहरूमा तोडफोड र आगजनीमा संलग्न झापाका ९४ जनामाथि उजुरी परेको छ । त्यसमध्ये ४१ जना पक्राउ परेका हुन् । ५३ जना फरार रहेका छन् ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टामा ३० पुरुष र एक महिला गरी ३१ जनामाथि उजुरी परेकोमा दुईजना पुरुष पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बिर्तामोडमा २४ जना पुरुष र एक महिला गरी २५ जनामाथि उजुरी परेकोमा एक महिला र १७ जना पुरुष गरी १८ जना पक्राउ परेका छन् ।

त्यस्तै इलाका प्रहरी कार्यालय दमकमा ३८ जना पुरुषमाथि उजुरी परेकोमा २५ जना पक्राउ परेका छन् । पक्राउ परेका ४१ जनामध्ये ४ जनामाथि दोहोरो मुद्दा चलेको छ ।

सोमध्ये १९ जना पुर्पक्षका लागि कारागार चलान भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले बताउनु भयो । १३ जना धरौटीमा छुटेको , ४ जना हाजिर जमानीमा छुटेको र ५ जना प्रतिवादीहरू अनुसन्धानकै क्रममा रहेको उहाँले जानकारी दिनु भएको छ।

जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालयहरूमा तोडफोड र आगजनी गरी आपराधिक उपद्रव कार्यमा संलग्नमाथि १५ वटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित खबर