२०८२ पौष २ बुधवार , ०१:०५:३४ बजे

Sajhamanch
'

एमाले महाधिवेशनमा शुरू भयो मतदान

बुधवार, पौष २, २०८२
काठमाडौँ । नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका उम्मेदवारद्वय केपी शर्मा ओली र ईश्वर पोखरेलले गरेको विद्युतीय मतदान सफल भएपछि प्रतिनिधिहरुलाई पनि मतदानका लागि भित्र पठाइएको हो ।

मतदानस्थलमा अध्यक्षका उम्मदेवार केपी शर्मा ओली आइपुगेपछि मतदान शुरु भएको हो । अध्यक्षका अर्का उम्मेदवार ईश्वर पोखरेल भने बिहानै आएर मतदातासँग मत मागिरहेका थिए ।

हिजै बिहान १० बजे मतदान शुरु हुने सुरुवाती तालिका भए पनि समय सर्दै अबेर राति ९ बजे तय भएको थियो । तर, उम्मेदवारको संशोधित सूचीका कारण विद्युतीय मतदान मेसिनमा प्रविष्ट गर्न ढिलाइ र फन्ट सपोर्ट नगरेको कारण आज बिहानलाई सारिएको हो ।

३०१ सदस्यीय केन्द्रीय कमिटी चयनको छिनोफानो गर्न २ हजार २ सय ६३ प्रतिनिधि भृकुटीमण्डपमा भेला भएका छन् । केही सदस्य भने निर्विरोध भइसकेका छन् ।

मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन राखिएको छ । एकजनालाई भोट हाल्न ३५ देखि ४० मिनेटसम्म लाग्ने बताइएको छ । निर्वाचन आयोगले एक पटकमा ५० जनालाई मतदानको व्यवस्था गरेको छ । महिला र पुरुषको एउटै लाइन बनाइएको छ ।

केपी शर्मा ओली र ईश्वर पोखरेल छुट्टाछुट्टै प्यानल बनाएर चुनावमा होमिएका छन् ।

केन्द्रीय निर्वाचन आयोगको विवरणअनुसार ५ जना उपाध्यक्ष पदका लागि ११ जनाको उम्मेदवारी परेको छ । महासचिवका लागि शंकर पोखरेल र सुरेन्द्र पाण्डे मैदानमा छन् ।

३ उपमहासचिव पदका लागि ७ जना र ९ सचिव पदका लागि २० जनाको उम्मेदवारीदर्ता भएको छ।

सम्बन्धित खबर