
काठमाडौं । काठमाडौंमा जारी नेकपा (एमाले)को एघारौं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि हुने मतदान पूर्वनिर्धारित समयभन्दा ढिलो हुने भएको छ ।
केन्द्रीय निर्वाचन आयोगले मध्याह्न १२ बजेदेखि ६ बजेसम्म मतदानको समय तोकेको छ । तर विद्युतीय भोटिङ मेसिनमा उम्मेदवारहरुको फोटोसहितको नामावली तयार पार्नुपर्ने भएकाले पूर्वनिर्धारित समयभन्दा ढिलो मतदान हुने प्राविधिकहरुले बताउनु भएको छ।
‘अन्तिम नामावली ढिला गरी राति एक बजे पायौं । अहिले फोटो मिलाउने काम भइरहेको छ,’ भोटिङ मेसिनका प्राविधिक लक्ष्मण रिमालले भन्नुभयो, ‘मतदान सुरु हुन चार बज्छ होला ।’
उहाँका अनुसार एक जनाले सबैलाई भोट हाल्न कम्तिमा ३५ मिनेट लाग्छ । ‘उम्मेदवार धेरै हुनुहुन्छ ३०–३५ मिनेट त लाग्छ,’ उहाँले भन्नुभयो ।
यसअघि निर्वाचन आयोगले भने आज १२ बजेदेखि मतदान गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो । अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेल प्रतिस्पर्धामा हुनुहुन्छ । उहाँहरु प्यानलसहित प्रतिस्पर्धामा हुनुहुन्छ ।


