२०८२ मंसिर २५ बिहिवार , ०६:५०:२७ बजे

Sajhamanch
'

चिसोमा पनि घटेन डेंगु संक्रमण, एक सातामा ९६ जनामा पुष्टि

बिहिवार, मंसिर २५, २०८२

काठमाडौं । चिसो मौसम सुरु भए पनि डेंगुको संक्रमण घटेको छैन । पछिल्ला दिनमा पनि डेंगुको संक्रमण यथावत नै रहिरहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को तथ्यांकले पनि देखाँउछ ।

ईडीसीडीका अनुसार पछिल्लो एक सातामा मात्रै ९६ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । गत पुसयता देशभर ८ हजार २६२ जनामा संक्रमण पुष्टि भएको ईडीसीडीको तथ्यांक छ । सोही अवधिमा संक्रमणका कारण ६ जनाको मृत्यु भएको छ ।

यसवर्ष डेंगु ७६ जिल्लामा फैलिएको छ । सबैभन्दा बढी गण्डकी प्रदेशमा २ हजार १४५ जना संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी बागमती २ हजार १३२, लुम्बिनीमा १ हजार ३४६, कोशीमा १ हजार ३६, सुदूरपश्चिम ८३२, कर्णालीमा ५३० र मधेशमा २११ जनामा संक्रमण पुष्टि भएको छ ।

किन घटेन डेंगु संक्रमण ?

सामान्यतया डेंगु सार्ने लामखुट्टेलाई २५ देखि ३० डिग्री सेल्सियसको तापक्रम उपयुक्त मानिन्छ । तर पछिल्लो समय यो भन्दा कम तापक्रममा पनि डेंगु सार्ने लामखुट्टे सक्रिय रहेको पाइएको छ ।

जनस्वास्थ्यविद्का अनुसार, किटजन्य रोग विस्तार हुनुमा जलवायु परिवर्तन, मानिसको बसाइँसराइ, तीव्र शहरीकरण, किटाणुमा कम तापक्रममा बाँच्न सक्ने क्षमताको विकास लगायत कारण रहेका छन् ।

तराईका जिल्लामा प्रकोपकै रूपमा देखिएको डेंगु संक्रमण गर्मी बढेपछि घटेको पाइएको थियो । किनकि, तापक्रम ३५ डिग्री सेल्सियस नाघेपछि डेंगु सार्ने लामखुट्टे बाँच्न सक्दैन । तर यसको उल्टो पहाडी र हिमाली क्षेत्रमा लामखुट्टेको प्रकोप बढ्दो छ । किनकि विज्ञका भनाइमा १२–१३ डिग्रीमा पनि डेंगु सार्ने लामखुट्टै सहजै बाँच्न सक्छ ।

विज्ञका डेंगु सार्ने लामखुट्टे १० देखि १२ डिग्री सेल्सियस तापक्रम रहँदासम्म हराउँदैन । हिजोआज पहाडी क्षेत्रको तापक्रम १० देखि १२ डिग्री सेल्सियसभित्रै रहेका कारण लामखुट्टे हराएको छैन ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसन्धान प्रमुख तथा वातावरणीय स्वास्थ्यमा विद्यावारिधि गरेका डा।मेघनाथ धिमालका अनुसार, तराईमा पाइने लामखुट्टेले अब आफूलाई पहाडी र हिमाली वातावरणमा अनुकुनलन गराएका छन् ।

‘जलवायु परिवर्तनको असर उच्च भू–भागमा देखिएको छ । हिजोका दिनमा चिसो हुने ठाउँमा तापक्रम बढेसँगै प्रत्यक्ष रूपमा लामखुट्टे, भुसुनाका कारण लाग्ने कीटजन्य रोग फैलिएका छन्’, डा। धिमाल भन्छन्, ‘मौसममा बदलावसँगै अन्य कारणले तराईको रोग पहाड अनि हिमालमा उक्लिएको छ ।’

पछिल्ला वर्षहरूमा लामखुट्टेले चिसोसँग लड्ने क्षमता विकास गरिरहेको उहाँको भनाइ छ ।

कुनै समय निश्चित भौगोलिक क्षेत्रमा मात्र देखिने कीटजन्य सरुवा रोग हिजोआज नयाँ(नयाँ क्षेत्रमा पुगिरहेका छन् । मलेरिया, डेंगु, चिकुनगुनिया, कालाज्वर, स्क्रब टाइफस, जापानिज एन्सेफ्लाइटिस, हात्तीपाइले जस्ता कीटजन्य रोगहरू अब तराईबाट पहाड हुँदै हिमालतिर पुगिरहेका छन् ।

सम्बन्धित खबर