२०८२ मंसिर २५, बुधवार , ०३:४८:२४ बजे

Sajhamanch
'

मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की

बुधवार, मंसिर २५, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार भएको बताउनु भएको छ । अन्तर्राष्ट्रिय मानव अधिकार दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्तो बताउनु भएको हो ।

प्रधानमन्त्री कार्कीले भ्रष्टाचारले विपन्न नागरिकको मौलिक अधिकार खोस्ने भन्दै यस्तो बताउनु भएको हो । ‘मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार नै हो। भ्रष्टाचार आर्थिक अनियमितता मात्रै होइनस यो विपन्न, अशक्त र अवसरबाट वञ्चित नागरिकको मौलिक अधिकार खोस्ने गम्भीर मानव अधिकार उल्लङ्घन हो’, सम्बोधनमा कार्कीले भन्नु भएको छ, ‘जब कुनै आयोजना भ्रष्टाचारले ग्रस्त हुन्छ, बिरामी नागरिक उपचार पाउने अधिकारबाट वञ्चित हुन्छन् । विद्यार्थी गुणस्तरीय शिक्षाबाट रोकिन्छ।’

सरकारले भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्ने वचनबद्धता व्यक्त गरेको कार्कीले प्रष्ट पार्नु भएको छ । उहाँले भन्नु भएको छ, ‘पारदर्शिता र जवाफदेहिताको वातावरणबिना मानव अधिकार सुरक्षित रहन सक्दैन, र यस दिशामा सरकार दृढतापूर्वक अघि बढिरहेको छ।’

संयुक्त राष्ट्र संघले ७७ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका लागि “मानव अधिकार, हामी सबैको अपरिहार्य आधार” भन्ने नारा तय गरेको छ ।

मानव अधिकारको प्रारम्भिक अवधारणाले मुख्यतः बाँच्न पाउने अधिकार र स्वतन्त्रतालाई जोड दिँदै आएको छ । ‘अब मानव अधिकार भनेको केवल जीवित रहनु मात्र होइन, आत्मसम्मानका साथ बाँच्न पाउनु, राज्यका निर्णयमा प्रश्न गर्न पाउनु, स्वच्छ वातावरणमा रमाउने अवसर पाउनु, र डिजिटल विश्वसँग समान र स्वच्छ पहुँच पाउनु पनि हो’, प्रधानमन्त्री कार्कीले भन्नु भएको छ, ‘

विशेषगरी हाम्रो नयाँ पुस्ता जेनजीले मानव अधिकारलाई कानुनी ग्रन्थमा सीमित नराखेर व्यावहारिक नतिजासँग जोडेर हेर्ने गरेको छ। सामाजिक सञ्जाल तथा डिजिटल प्लाटफर्ममार्फत उनीहरूले गरिरहेको खबरदारी लोकतन्त्रको सुन्दर प्रकटीकरण हो, र म यसलाई सम्मान गर्दछु।’

सरकार युवाहरूको डिजिटल अधिकार, गोपनीयताको अधिकार, नवप्रवर्तन र सिर्जनात्मक क्षमतालाई नीति निर्माण र कार्यान्वयनमा समाहित गर्न दृढताका साथ अघि बढ्ने उहाँको भनाइ छ ।