२०८२ मंसिर २५, बुधवार , १२:३४:५२ बजे

Sajhamanch
'

जापानको सीमा नजिक रूस र चीनको संयुक्त हवाई गस्ती

बुधवार, मंसिर २५, २०८२

झापा । जापानले आफ्नो वरपरको आकाशमा रूस र चीनका हवाई सेनाले संयुक्त गस्ती सञ्चालन गरेपछि लडाकु विमानहरु तैनाथ गरी निगरानी बढाएको छ । टोकियो–बेइजिङ सम्बन्धमा बढ्दो तनावसँगै जापानले निगरानी बढाएको जापानी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै समाचारसंस्था रोयटर्सले जनाएको छ ।

मन्त्रालयका अनुसार दुई रूसी विमानहरू यसअघि जापानको समुद्रबाट पूर्वी चीन सागरतर्फ उडेका थिए । ती विमानले दुई चिनियाँ बमवर्षकसँग भेट गरी प्यासिफिक क्षेत्रमा संयुक्त उडान अभ्यास गरेको चीनको दाबी छ । यस्तै चार वटा चिनियाँ लडाकु विमानहरु पनि ओकिनावा र मियाको टापुमा घुम्ती उडान पूरा गरेको जापानिज पक्षको भनाइ छ ।

मियाको सामुद्रिक मार्ग अन्तर्राष्ट्रिय जलक्षेत्र मानिन्छ । जापानी रक्षा मन्त्री शिन्जिरो कोइजुमीले रुस र चिनियाँ संयुक्त अभियान आफ्नो देशमाथिको शक्ति–प्रदर्शन भन्दै यसले राष्ट्रिय सुरक्षाका लागि गम्भीर चिन्ता बढाएको बताउनुभएको छ ।

टोकियो–बेइजिङ तनाव जापानी प्रधानमन्त्री साने ताकाइचीले गएको महिना गरेको टिप्पणीपछि चर्किएको हो, जहाँ उहाँले ताइवानमाथि चीनले गरेको कुनै पनि सैन्य कदमले जापानको सुरक्षामा खतरा पैदा गरेमा जापानले आवश्यक प्रतिक्रिया जनाउन सक्ने बताउनुभएको थियो ।

चीन र रुसले पछिल्ला वर्षहरूमा सैन्य सहयोग बढाउँदै आएका छन्, जसमा मिसाइल–प्रतिरोध तालिमदेखि दक्षिण चीन सागरमा संयुक्त नौ सैनिक अभ्याससम्म समावेश छन् ।