
काठमाडौं । कुखुराको अण्डाको भाउ फेरि बढेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले १० दिनअघि मात्रै अण्डाको भाउ बढाएकोमा फेरि भोलिदेखि लागू हुने गरी भाउ बढाएको हो ।
नयाँ मूल्य अनुसार अण्डाको भाउ प्रतिक्रेट २० रुपैयाँ बढेको छ । अब सबैभन्दा ठूलो आकारको अण्डाको भाउ प्रतिक्रेट ५८० रुपैयाँ पुगेको छ । यस्तै ठूलो अण्डाको भाउ प्रतिक्रेट ५६५ रुपैयाँ र मध्यम अण्डाको भाउ प्रतिक्रेट ५५० रुपैयाँ तोकिएको छ ।
यो फार्मको थोक बिक्री मूल्य हो । यो खुद्रा व्यापारी हुँदै उपभोक्तासम्म पुग्दा थप महँगो हुन्छ । काठमाण्डौका खुद्रा पसलमा अण्डाको भाउ प्रतिगोटा २२ देखि २५ रुपैयाँसम्म पुगेको छ ।
यसअघि मङ्सिर १३ गतेदेखि लागू हुने गरी अण्डाको भाउ बढेको थियो । अण्डाको उत्पादन कम र माग बढी भएकोले भाउ बढाएको नेपाल लेयर्स कुखुरापालक सङ्घले जनाएको छ ।
सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार जाडोका बेला अण्डाको माग बढ्छ । यस्तै पछिल्ला महिना भारतीय अण्डा अवैध रूपमा आउने क्रम रोकिएपछि नेपाली अण्डाले मूल्य पाएको उहाँको भनाइ छ ।
नेपालमा दैनिक झन्डै ४० लाख गोटा अण्डा उत्पादन हुने गरेको अनुमान छ ।


