
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले लोकतन्त्रलाई संस्थागत गर्नको निमित्त निर्वाचन अपरिहार्य रहेको बताउनु भएको छ।
आइतबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार समाज (नाफिज) को १६औं वार्षिक साधारण सभामा उहाँले वर्तमान सरकारलाई तीन वटा काम पूरा गर्नुपर्ने दायित्व रहेको र त्यसमध्ये एउटा निर्वाचन भएको बताउनु भयो ।
निर्वाचनको मिति सार्नु भनेको मुलुकलाई अनिश्चयको दिशामा लैजानु रहेको उहाँको भनाइ छ ।
अनिश्चयले युवालाई थप निराश बनाउने उहाँको तर्क छ । संविधान बमोजिम समयमा निर्वाचन गर्नुपर्ने दायित्व वर्तमान सरकारको रहेको उहाँले बताउनु भयो ।
मुलुक अहिले परिवर्तनको संघारमा रहेको तर परिवर्तन भइनसकेको भन्दै उहाँले जेनजी आन्दोलन आर्थिक समृद्धिको लागि नभइ भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि भएको बताउनु भयो ।
‘अहिले हाम्रो मुलुक परिवर्तनको संघारमा छ । परिवर्तन भइसकेको छैन । त्यसका त्यसका तरंगहरू अझै पनि छन् । त्यो तरंगले हामीलाई गलत दिशामा नपुर्याओस् भन्नुको निमित्त खासगरी जेनजी आन्दोलन भनेको आर्थिक समृद्धिका लागि थियो भन्नेकुरा मैले बुझेको छैन । उहाँहरूको नारा दुई दिनमा हामीलाई आर्थिक समृद्धि चाहियो भन्ने पनि थिएन । हामीलाई मुलुकभित्रै अवसर मिलोस् र बाहिर जान नपरोस् भन्ने पनि थिएन । दुई वटा मात्रै मुद्दा थियो । एउटा भ्रष्टाचार बढ्यो । राज्यका शक्तिशाली नेतृत्वदायी व्यक्तिहरूबाटै भ्रष्टाचारको संरक्षण भयो । त्यसको अन्त्य हुनुपर्छ र अर्को सुशासन कायम हुनुपर्छ । कम्तीमा पनि नागरिकले सरकारको सेवाग्राहीको रूपमा पाउनुपर्ने सेवा सही तरिकाले पाउनुपर्यो भन्ने दुई वटा माग थियो,’ उहाँले भन्नुभयो ।
अर्थमन्त्री खनालले समाजमा रहेका गलत जुनसुकै क्रियाकलापलाई पनि नियन्त्रण गर्नैपर्ने बताउनु भयो ।


