२०८३ वैशाख २७ आइतवार , ०५:०७:३६ बजे

Sajhamanch
'

बिर्तामोड उद्योग वाणिज्य संघको ४४औं स्थापना दिवसमा पूर्वअध्यक्षहरु सहित कलाकारहरु सम्मानित

शुक्रवार, मंसिर १९, २०८२

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघको ४४औं स्थापना दिवस भव्यरूपमा मनाइएको छ ।

संघले संस्थापक अध्यक्ष स्व. मन्तुराम जलान (मरणोपरान्त) तथा पूर्व अध्यक्षहरू चतुर्भूज सरीया, वेदप्रकाश अग्रवाल, सुधीरकुमार शिवाकोटी, शिवप्रसाद पोखरेल, राजेन्द्रकुमार थापा, मोहन ढकाल, उमेश डालमिया, रामलोचन न्यौपाने, राजकुमार अग्रवाल, कुमार भट्टराई र बलराम कार्कीलाई सम्मान गरेर स्थापना दिवस मनाएको हो । संस्थापक अध्यक्ष स्व. जलानको सम्मानपत्र उनका छोरा सजनकुमार जलानले ग्रहण गरेका छन् ।

संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षता तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष हेमराज ढकालको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा विशिष्ट सदस्य निर्मल भट्टराईले शाब्दिक स्वागत गरेका थिए।

स्थापना दिवसमा व्यवसायीहरुले केक काटेर खुशीयाली बाँडेका थिए ।

यसैबीच ‘द भ्वाइस किड्स सिजन ४’ का फस्र्ट रनरअप तथा बेस्ट परफर्मर सम्यन बजगाई र ‘सारेगमप लिटल च्याम्स सिजन २’ का सेकेन्ड रनरअप संस्कार सापकोटालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा बिर्तामोड नगरप्रमुख पवित्रा महतारा प्रसाई, झापाका निमित्त प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाइँ, बिर्तामोड उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष चतुर्भूज सरीया, उमेश डालमिया, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य गोकुल श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि ढकालले संघले पहिलोपटक भव्यरूपमा स्थापना दिवस मनाएकोमा विउवाका अध्यक्ष न्यौपानेलाई धन्यवाद व्यक्त गर्दै जेनजी आन्दोलनका कारण व्यवसायीको मनोदशा कमजोर बनेको बताए । उनले अहिलेको युवा पुस्ताले चाहेका उद्योग–व्यवसाय खोल्न सरकार अगाडि बढ्नुपर्नेमा जोड दिए र आर्थिक नीति एकैढंगले निर्धारण गर्न राजनीतिक दलहरूलाई आग्रह गरे ।

कार्यक्रमको सञ्चालन संघका महासचिव कुशल खतिवडाले गरेका थिए ।

सम्बन्धित खबर