
झापा । सप्तरीको कञ्चनरुप नगरपालिकामा बस र ट्रक एक आपसमा ठोक्किँएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना यात्रु घाइते भएका छन्।
नगरपालिकाको वडा नम्बर २ बरमझियास्थित पूर्वपश्चिम लोकमार्गमा बिहीबार राति जनकपुरबाट काकडभिट्टातर्फ जाँदै गरेको मधेश प्रदेश ०२–००१ ख ०२८७ नम्बरको यात्रुबाहक बस र विपरित दिशाबाट आउँदै गरेको ना. ३ ख. ४४०२ नम्बरको ट्रक एक आपसमा ठोक्किँएर दुर्घटना हुँदा बसमा सवार ५० वर्षीय पुरुष यात्रुको मृत्यु भएको हो।
मृतकको नाम ठेगाना खुल्न नसकेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो। घाइतेहरुको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। प्रहरीका अनुसार बसमा सवार ५५ जना यात्रु सबार थिए।


