
- देवराज कार्की
नेकपा (एमाले) नेपाली जनताको आस्था र विश्वासको धरोहरको रूपमा रहेको आम जनताको प्राणप्रिय पार्टी हो । यसको गन्तव्य समानुपातिक, सहभागितामूलक र समावेसितासहितको समतामूलक समाज निर्माण गर्नु हो । यो पार्टीमा विचारमा अब्बल दर्जाका ठूलो संख्यामा, लाखौंलाख नेता–कार्यकर्ता र समर्थक(शुभेच्छुकहरु छन् । नेता–कार्यकर्ताहरुलाई आफ्नो ज्ञान, सीप, दक्षता र कार्यक्षमता प्रर्दशन गर्ने उपयुक्त फोरम अवश्य चाँहिन्छ नै । यसर्थ एमालेका पार्टी र जनसंगठन कमिटी तथा पदाधिकारी र सदस्यहरूको संख्या स्वभाविक रुपमा ठूला हुनुपर्छ र छन् पनि ।
यस्तो संवेदनशील विषयमा सायदै पर्याप्त बहस–छलफल नगरिकन गत भाद्र महिनामा सम्पन्न पार्टीको दोस्रो विधान महाधिवेशनबाट केन्द्रीय कमिटी र केन्द्रीय पदाधिकारीहरूको संख्या घटाउने साथै स्थायी कमिटी हटाउने निर्णय भएकाले उक्त निर्णय समय सान्दर्भिक र दूरदर्शी छैन भन्ने म लगायत धेरै कार्यकर्ताहरूको ठम्याई रहेकोछ । त्यसकारण यही मंसिर २७, २८ र २९ गते हुने ११औं राष्ट्रिय महाधिवेशनले सर्वप्रथम उक्त निर्णयलाई सच्याएर पार्टीको केन्द्रीय कमिटी संख्या घटीमा ५०१ जनाको बनाउनु पर्छ, संघीय निर्वाचन क्षेत्रमा सिनियर केन्द्रीय सदस्यलाई इन्चार्ज र प्रादेशिक निर्वाचन क्षेत्रमा जुनियर केन्द्रीय सदस्यलाई इन्चार्जको जिम्मेवारी दिनु पर्दछ । वरिष्ठ उपाध्यक्ष कायम गरी पार्टी अध्यक्षमा क. कमरेड केपी शर्मा ओलीलाई नै र वरिष्ठ उपाध्यक्षमा क. कमरेड ईश्वर पोखरेललाई नै कायम राख्नुपर्दछ । मुलुकमा विद्यमान विषम परिस्थिति सामान्य भएपछि कमरेड केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरण गरी पार्टीको संरक्षक–निर्देशकको रुपमा रहनुपर्दछ ।
पदाधिकारीको संख्या केही बढाउनु पर्दछ । स्थायी कमिटी र पोलिटव्यूरो विगतको नै कायम राख्नु आवश्यक छ । आज सामाजिक सञ्जालमा एमालेका दुई समूह बनी नेतृत्वका लागि महाधिवेशनमा प्रतिस्पर्धा गर्ने भन्ने व्यापक समाचार आइरहेका छन् । यी समाचारलाई एमालेको हित नचाहाने देशी–विदेशी मित्रहरुले बाहिर–भित्रबाट मसिनो ढङ्गले मलजल गरिरहेका छन् । यो उनीहरूको राजनीतिक धर्म पनि हो । यतिबेला एमालेको केन्द्रीय कमिटीको महत्वपूर्ण जिम्मेवारीमा जो–जो कमरेडहरु हुनुहुन्छ, उहाँहरु समूहगत प्रतिस्पर्धाको आवरणमा विचलित हुने वातावरण सृजना भयो भने यसले एमाले पार्टीले मात्र होइन यो मुलुकले नै भयंकर संकट व्यहोर्नु पर्नेछ । अतः समयमै जिम्मेवार नेतृत्वले जिम्मेवारीपूर्वक सोच्न र निर्णयमा पुग्न हामी आम कार्यकर्ताहरू मुख्य नेतृत्वसँग हार्दिकतापूर्वक आग्रह र अनुरोध गर्दछौं । जय एमाले ! नेपाली हामी रहुँला कहाँ एमाले नरहे !!
नेकपा (एमाले) झापा जिल्ला सचिवालय सदस्य


